कस्तो छ उपत्यकामा ‘पानी भण्डार’को अवस्था ?

Dhunge_Dhara
लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकाले दशकौंदेखि खानेपानीको अभाव खेपिरहेको छ। बढ्दो जनसंख्याको चाप, वातावरणीय प्रदूषण, अव्यवस्थित र अनियन्त्रित रुपमा बढ्दै गएको शहरीकरणका कारण खोलानाला तथा पानीका मुहानहरु सुक्दै गएको छन्।

उपत्यकाको खानेपानी पूर्तिका लागि प्रमूख उपाय मेलम्ची खानेपानी आयोजना मानिएको छ। तर यो खानेपानी आयोजना सम्पन्न हुँदा पनि उपत्यकाको कुल मागको आधा मात्र पूरा हुने विज्ञहरु बताउँछन्। काठमाडौंमा पानी ल्याउने अर्को आयोजना तत्काल शुरू हुने सम्भावना देखिदैन। यस्तो अवस्थामा अपुग पानीका लागि एक मात्र स्रोत भूमिगत पानी हो।

तर, एकातिर भूमिगत पानीको अत्यधिक दोहन भइरहँदा भण्डार घट्दो छ भने अर्कोतिर आकाशे पानी नियमित पूर्नभरण हुने प्राकृतिक प्रक्रिया खलबलिएको छ। त्रिभुवन विश्वविद्यालय र जापानको यामानासी विश्वविद्यालयले सन् २०१६ मा प्रकाशित गरेको संयुक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०११ मा उपत्यकाको जनसंख्या २४ लाख २० हजार हुँदा पानीको माग ३२ करोड लिटर प्रतिदिन थियो।

सन् २०१६ मा जनसंख्या ३० लाख पुगेसँगै पानीको माग ४१ करोड ६ लाख लिटर पुग्यो। सन् २०२१ मा काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख पुग्नेछ भने पानीको माग ५४ करोड लिटर प्रतिदिन पुग्ने अनुमान छ। मेलम्ची आयोजना सम्पन्न भएपछि त्यसबाट काठमाडौंमा दैनिक १७ करोड लिटर पानी आपूर्ति हुनेछ। भूमिगत स्रोतबाट आपूर्ति हुने १० करोड लिटर पनि यसमा जोड्ने हो भने उपत्यकामा दैनिक २७ करोड लिटर पानी उपलब्ध हुनेछ। यो भनेको कुल मागको आधा मात्रै हो।

रित्तिँदै भण्डार

पानीका स्रोत मूल, खोला र भूमिगत गरी तीन किसिमका हुन्छन्। उपत्यकामा पानीको मुख्य स्रोत भूमिगत नै हो। तर बर्खाको पानी जमीनको सतहमुनिको खँदिलो चट्टानको तहभन्दा तल पुग्दैन। चट्टानको तहभन्दा माथि नै रहेको उक्त पानी भित्रभित्र बग्दै विभिन्न स्थानबाट मूलको रूपमा बाहिर निस्किन्छ। उपत्यका तथा तराईमा १५ देखि ३० फिटभन्दा बढी गहिराइमा नपुग्ने यही पानी नै हो ढुंगेधाराबाट आउने, स्यालो ट्यूबवेल र हातेपम्पबाट निकालिने हो।

तर, उपत्यकामा पानी रिचार्ज हुन नपाउँदा ढुंगेधारा, इनार र स्यालो ट्यूबवेलबाट पानी आउन छोडिसकेको छ। विकसित नयाँ संरचनाले बर्खाको पानीलाई सीधै खोलामा पठाएको छ। जमीनले पानी सोसेर हुने रिचार्जको प्रक्रिया अवरुद्ध भएपछि ढुंगेधारा र हातेपम्प सुकेको विज्ञ बताउँछन्।

वर्षाको एकतिहाइ पानी मात्र रिचार्ज हुने हो भने पनि यहाँका इनार र हातेपम्पमा वर्षैभरि पानी आउँछ। इनार तथा हातेपम्पबाट पानी आउन छोडेपछि उपत्यकामा डिप ट्यूबवेलबाट पानी निकाल्न थालिएको छ। यो पानी सतहभन्दा ४० देखि ५० फिट मुनिबाट निकालिन्छ। उपत्यकाका ठूला होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र व्यावसायिक संस्थाहरूले डिप ट्यूबवेलकै पानी प्रयोग गर्छन् भने काठमाडौं खानेपानी आयोजनाले समेत यस्तै ट्यूबवेलबाट निकालिएको पानीसमेत वितरण गरिरहेको छ।

डिप ट्यूबवेलबाट निकालिने पानी र सतहबाट छिरेर रिचार्ज हुने पानीको सम्बन्धबारे अहिलेसम्म विस्तृत अध्ययन भएको छैन। यद्यपि, सतहबाट छिरेको पानी सहजै ४० देखि ५० फिटभन्दा तल नपुग्ने भएकाले डिप ट्यूबवेलबाट निकालिने पानीको भण्डार रित्तिनसक्ने विज्ञहरूको धारणा छ।

विज्ञहरूका अनुसार जमीनमुनि पानी असीमित छैन। अत्यधिक दोहनले पानीको भण्डार रित्तिन सक्छ। त्यसैले भूमिगत जलभण्डारको अध्ययन र नियमन आवश्यक रहेको धारणा विज्ञहरुको रहेको छ। बर्खामा परेको पानीलाई ४० देखि ५० फिट पार गर्नका लागि सयौं वर्ष लाग्ने बताउँछन्। डिप ट्यूबवेलबाट निकालिने पानी सयौं वर्षको अवधि पार गरेर तल्लो तहमा पुगेको पानी हो। तर, पानीको यो भण्डार अत्यधिक दोहनबाट रित्तिने निश्चित भएकाले त्यसको नियन्त्रित प्रयोग हुनुपर्नेमा विज्ञहरु सहमत छन्।

काठमाडौं उपत्यकामा एउटा डिप ट्यूबवेल जडान गर्न करीब ४० लाख लागत पर्छ र यो पानी पनि अत्यधिक दोहन भइरहँदा सकिने सम्भावना छ। डिप ट्यूबवेलबाट समेत पानी नआउने हो भने उपत्यकामा पानीको समस्या अहिले भन्दा निकै जटिल हुनेछ। त्यसैले बर्खाको पानी रिचार्ज हुने प्रक्रिया बढाउनै पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्