ओली, प्रचण्ड र देउवा छलफलमा, के छन् एजेण्डा ?

Shirsa_Neta
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा छलफल गर्न उनीहरु जुटेका हुन्।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यस विषयमा शुक्रबार पनि शिर्ष नेताहरुबीच छलफल भएको थियो। शुक्रबारको बैटकमा कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, नेकपाबाट सुवास नेम्बाङ र खिमलाल देवकोटा लगाएका सहभागी भएका थिए।

आजको छलफलमा पनि उनीहरु सहभागी रहेको बताइएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिलगायतका विषयमा शीर्ष नेताबीच पटकपटक छलफल हुँदै आए पनि पदाधिकारीको टुंगो लाग्न नसक्दा पीडितहरूले अझै न्याय पाउन सकेका छैनन्।

सरकारले पदाधिकारी सिफारिसका लागि गत वर्षको चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो। उक्त समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज बालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन्। उनी कांग्रेसको सिफारिसमा आयोग अध्यष हुन लागेका हुन्। वेपत्तामा भने सुवास नेम्वाङको सिफारिसमा सर्वाच्चका एक पूर्वन्यायधीशको नाम सिफारिस हुने स्रोतले जनाएको छ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २/२ जना लिने भन्नेमा कुरा मिलेको थिएन। शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ। त्यसपछि सिफारिस समितिले बैठक बसेर क्याविनेटमा सिफारिस पठाउने छ।

मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ। टिआरसीको ऐन संसोधनका विषयमा पनि दलहरुबीच सहमति छ।