अन्नपूर्ण आधार शिविरमा ६ जना बेपत्ता

annapurna
लाेकपाटी न्यूज

पोखरा। अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका ९ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए। अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चारजना कोरियन नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उनले उक्त टिममा अन्य नेपाली पनि हुनसक्ने बताए। थप विवरण आउन बाँकी छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्