आरक्ष पीडितका पक्षमा मन्त्री मगरकाे अभियान

pic
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्याल शनिबार कञ्चनपुर जाँदै छन्। खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कञ्चनपुर जान लागेका हुन्।

यस अघि तीनैजना मन्त्रीहरूले सिंहदरबारमा आरक्ष पीडितहरुको समस्या समाधान गर्न सामूहिक छलफल गरेका थिए। कञ्चनपुरका आरक्ष पीडित सुकुम्बासी जनताको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्ने तीनै जना मन्त्रीले यसअघि प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त क्षेत्रका पीडित जनताका समस्या समाधान गर्न खानेपानी मन्त्री मगरले विशेष अगुवाईको भूमिका खेलिरहेकी छिन्।

यसअघि पनि आरक्ष पीडितहरुले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी आफूहरुको मागलाई सम्बोधन गर्न सरकारले उचित व्यवस्थापन गर्नुपर्ने भनी ध्यानाकर्षण गराएका थिए । वन मन्त्री बस्नेतले त्यस क्षेत्रका पीडित जनताको उचित बसोबासका लागि व्यवस्थापन चाँडो गरिने बताएका थिए। छलफलमा भूमि व्यवस्था मन्त्री अर्यालले विस्थापित आरक्ष पीडितहरुको मागलाई चाँडै सम्बोधन गरिने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियोे। त्यो समयदेखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जनप्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन्। यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप रहेको छ।

२०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन्।संकटकालका बेला विस्थापित भएका परिवारहरू शिविर बनाएर अझैपनि खुला आकाशमुनि जीवन बिताइरहेका छन्। लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापित परिवारले जग्गा दिएर भएर पनि सरकारले समस्याको समाधान गर्नुपर्ने माग राख्दै आएका छन्।

यसैबीच नेपाल भ्रमण वर्ष सुरु भैसकेकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने उद्देश्यले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाबाट हुन लागेको जंगल सफारीको दोस्रो प्रवेशद्वारको शिलान्यास शनिबार हुने भएको छ। खानेपानी मन्त्री मगर र वन मन्त्री बस्नेतले संयुक्त रूपमा प्रवेश द्वारको शिलान्यास गर्ने कार्यक्रम छ। लामो समयदेखिको प्रयास पछि खानेपानी मन्त्रीको अग्रसरतामा जंगल सफारीको प्रवेश द्वार शिलान्यास हुन् लागेको हो। अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेको छ। यसैगरी २०५८ सालदेखि बन्द रहेको कञ्चनपुरको महेन्द्रनगरको एयरपोर्टको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्