काठमाडौं, १ माघ। अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन्। विवाहको लागि साइत खोज्नेहरुका लागि अब यो वर्ष २० दिन बाँकी छ। माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ढुंगेलेका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो। आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४÷४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ । २०७७ सालको दशैं तिहार २५ दिन पर धकेलिएको छ। वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको ढुंगेलले बताए। असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको उनको भनाइ छ ।
मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ। मलमासकै कारण २०७७ सालको दशैं र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैं कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। उनका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ।
यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताए। यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ। २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ। मलमास नपरेको बेलामा दशैं सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ।



लाेकपाटी न्यूज
