काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन्।
उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे। ‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तर संसदलाई बन्धक बनाउन मिल्दैन’ उनले भने ।
हिउँदे अधिवेशन आह्वान भएको महिनादिनसम्म पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको उल्लेख गरेका देउवाले अब धेरै कुर्न नसकिने पनि बताए। ‘अब सभामुख चयन प्रक्रिया सुरू गरिएन भने हामी संसद चल्न दिनौं,’ बुधबार मोरङ पुगेका देउवाले पत्रकारहरूसँग भने।
नेकपाभित्र आन्तरिक विवादका कारण सभामुख चयन प्रक्रिया लम्बिएको छ। पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ। अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद बैठक डाकिएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताए। ‘हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउवाले भने, ‘नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ। यसलाई अनुमोदन गरेर जानुपर्छ।’
देउवाले पार्टीभित्रका विवाद मत्थर हुँदै गइरहेको पनि दाबी गरे। बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने बताए।
महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेपछि आफूहरूको परामर्शबिना नै सभापति अघि बढेकोमा पौडेल र सिटौला रूष्ट थिए। ‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो। तोकिएकै समयमा महाधिवेशन हुन्छ,’ सभापति देउवाले भने।



लाेकपाटी न्यूज

