काठमाडौं। के भनाई छ भने, अक्सर दम्पतीको कलह आर्थिक कारणले हुन्छ। जब घरखर्च र कमाईको अनुपात मिल्दैन। अर्थात, जब कमाई भन्दा खर्च बढी हुन्छ, तब पारिवारिक कलह सुरु हुन्छ। पुग्दो आयस्रोत एवं पैसा छ भने परिवारका इच्छा, चाहना र आवश्यक्ताहरु त्यही अनुरुप पुरा हुन्छ।
उनीहरुमा आर्थिक कारणले कुनै समस्या आउँदैन। तर, आयस्रोतका माध्याम कम हुँदै जानु, आर्थिक भार थपिदै जानु भनेको कलहको निहुँ बन्छ। आर्थिक अभावले पारिवारिक विखण्डन ल्याउँछ। दम्पतीबीच मनमुटाव, झै-झगडा मात्र होइन, सम्बन्ध नै दुई चिरा पर्ने अवस्था पनि आउँछ। आफ्नो सामान्य आवश्यक्ताहरु सजिलै पुरा नहुँदा, इच्छाहरु खुम्च्याएर बस्नुपर्दा परिवारमा सुख आउँदैन।
पति-पत्नीबीच एकअर्काले गर्ने खर्च पनि कलहको विषय बन्छ। त्यसैले परिवार सुखको एउटा माध्यम हो, दिगो आयस्रोत। भनौं, पुग्दो पैसा छ भने परिवारमा आर्थिक कारणले कलह हुँदैन। सामान्य आवश्यक्ताहरु सजिलै पुरा हुन्छन्। पारिवारिक दायित्व बोझिलो हुँदैन। यसले एक किसिमको तनाव आउन दिदैन। परिवारमा शान्ति छाउँछ।
तर, प्रशस्त पैसा आर्जन गर्दैमा वा आयस्रोतका माध्यामहरु बढाउँदैमा परिवारका आवश्यक्ताहरु पुरा हुन्छन् भन्ने होइन। जति पैसा भयो, उत्तिनै आकंक्षा पनि बढ्दै जान्छ। इच्छा बढ्दै जान्छ। त्यस अनुरुप खर्च पनि बढ्छ। यस्तो अवस्थामा जति कमाए पनि त्यो अपुग हुन्छ।
भनिन्छ नि, पैसा कमाउनु त्यती महत्वपूर्ण कुरा होइन, जति बचत गर्न सक्नु हो। यसले आर्थिक व्यवस्थापन गर्नु कति महत्वपूर्ण छ भन्ने पनि बुझाउँछ। खासगरी दाम्पत्य जीवनलाई सही र सन्तुलित ढंगले अगाडि बढाउनका लागि पनि आर्थिक व्यवस्थापनले भूमिका खेल्छ। घरायसी आवश्यक्ता टार्न एवं लक्ष्य हासिल गर्नका लागि पति-पत्नी दुबैबीच यस्तो तालमेल मिल्नुपर्छ, जसले आर्थिक रुपमा परिवारलाई सक्षम तुल्याउँछ।
आर्थिक लक्ष्य साझा गर्ने
आर्थिक कुरा निकै संवेदनसिल हुन्छन्। घरखर्च कसरी जुटाउने, आयस्रोत कसरी बढाउने, खर्च व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा एकलौटी निर्णय गर्नु ठिक हुँदैन। यसमा पति-पत्नी दुबैले आवश्यक सल्लाह गर्नुपर्छ। दुबैको विचार साझेदार गर्नुपर्छ।
आर्थिक अभाव टार्न लिइने ऋणका विषयमा पनि दुबैबीच छलफल हुनु आवश्याक छ। एक जनाको निर्णयमा ऋण लिनु निकै जोखिमपूर्ण हुनसक्छ। भोलिका दिनमा यस्ता प्रवृत्तिले अप्ठ्यारो मात्र पार्ने होइन, पारिवारिक जीवन नै ध्वस्त बनाउन सक्छ।
त्यसैले घरखर्च कसरी चलाउने, कुन कुन कुरामा खर्च गर्ने, कहाँबाट आर्जन गर्ने, आर्जनका स्रोतहरु के- के हुनसक्छन् भन्ने कुरा पति-पत्नीले आपसमा छलफल गर्नुपर्छ।
आफ्नो आवश्यक्ताका बारेमा पनि खुलेर छलफल गर्नुपर्छ । पति-पत्नीमध्ये एकजना खर्चिलो र अर्का मितव्यायी हुनसक्छन्। उनीहरुबीच यसरी सन्तुलन नमिल्दा पनि कलह हुन्छ। खासगरी खर्च गर्ने कुरामा दुबैवीच आपसी सहमति हुनु, सल्लाह हुनु नितान्त आवश्यक छ।
मासिक बजेट तयार गरौंः दम्पतीले घरायसी खर्चका लागि मासिक बजेट तयार गर्नु उपयुक्त हुन्छ। मासिक बजेट तयार गरेपछि आवश्यक्तालाई प्राथमिकतामा राखेर सूची तयार गर्न सकिन्छ। यसो भएमा अति आवश्यक कुराहरुमा खर्च अभाव हुँदैन।
मासिक बजेट तयार गरेर सोही अनुसार खर्च गर्दा फजुल खर्चबाट पनि बचिन्छ। यसको सबैभन्दा ठूलो फाइदा त के भने, आफ्नो आयस्रोत एवं आम्दानी अनुरुप खर्चको सूची बनाउन सकिन्छ। यसले गर्दा अनावश्यक खर्च हुँदैन। अतिरिक्त कुरामा खर्च जाँदैन। अनावश्यक व्यायभार बढ्दैन।
मासिक बजेटको सूची तयार गर्दा आवश्यक्तालाई प्राथमिकतामा राख्नुपर्छ। घरको लोन होस् वा घर भाडा, बच्चाको शूल्क, पानी-बत्तीको खर्च, खद्यन्न, दैनिक उपभोग्य बस्तु जस्ता कुरामा हुने खर्च अनिवार्य हुन्छन्। त्यसबाहेक औषधी उपचार, चाडपर्व, लताकपडा, घुमफिर जस्ता कुरामा पनि खर्च लाग्न सक्छ। यस्ता संभावित खर्चहरुका लागि पनि अतिरिक्त पैसा बचत गर्न सकिए धेरै राम्रो हुन्छ।



लाेकपाटी न्यूज

