हेटौंडा, २७ पुस। प्रदेश तीनको राजधानी काभ्रेको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेश नम्बर तीनको जारी बैठकमा भएको निर्वाचनमा काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो ।
बैठकमा १०४ सांसद उपस्थित भएकोमा धुलिखेलको पक्षमा तीन मत परेको थियो भने विपक्षमा १०१ मत परेको थियो । अब स्थायी राजधानी हेटौंडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान हुदैछ। विवेकशील साझाबाहेक अरू दल हेटौंडाको पक्षमा छन्। एक स्वतन्त्र मत तटस्त रहेको छ।
प्रदेश ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको थियो।
बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्।



लाेकपाटी न्यूज

