सीजी टेलिकमलाई लाइसेन्स नदिनु सरकारको पूर्वाग्रह: कांग्रेस

Bishwaprakash Sharma
लाेकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिलाई अनुमति नदिएर सरकारले पूर्वाग्रही व्यवहार गरेको बताएको छ। सांसदसमेत रहेका विनोद चौधरीको सिजी कम्युनिकेशनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप कांग्रेसले लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्पूर्ण प्रक्रिया पुर्‍याएको र कुनै वक्यौतासमेत नरहेको औद्योगिक धरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दु:खद रूपमा लिएको उल्लेख गरेका छन्।

‘लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सिजी कम्युनिकेशनले सम्झौता गरेको, प्रक्रिया पूरा गरेको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत् प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयम सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ,’ शर्माले शनिबार निकालेको विज्ञप्तिमा भनिएको छ।

सरकारले नियतवश गरेको विभेदप्रति कांग्रेसले खेद प्रकट गरेको पनि उनले उल्लेख गरेका छन्। ‘नियतबस गरेको यस्तो भेद र निरूत्साहित गर्ने प्रयत्नप्रति कांग्रेस खेद प्रकट गर्छ,’ उनले भनेका छन्। कांग्रेसले अर्थ समितिले दिएको निर्देशनसमेत कार्यान्वयनमा ल्याउन सरकार चुकेको बताएको छ।

समितिले दिएको निर्देशन कार्यान्वयनमा नलगेर राज्यको ढुकुटीमा बक्यौता रकम लिन गम्भीर्यता नराखेको कांग्रेसको भनाइ छ। हालै मन्त्रिपरिषद बैठकले स्मार्ट, नेपाल स्याटेलाइट र वेवसर्फर टेलिकम कम्पनीका लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको थियो। निजी कम्पनी कसैलाई काखा र कसैलाई पाखा गर्ने व्यवहार सरकारबाट भएको कांग्रेसको आरोप छ।