गुरुङ वंशावलीमा रागस्य राजा र भागस्य राजाको उल्लेख छ। यी रागस्य र भागस्य व्यक्तिको नाम नभएर घले राजा र शाही राजा भने जस्तै जातिगत नाम हुन्। यी रागस्य र भागस्यहरू नै यहाँका भूमिपुत्रहरू हुन्। अघि कास्कीका राजा राकसे गुरुङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका घर्तीहरूले पुराना गाउँको पोखरीमा भाँडाकुँडाहरू लुकाएको वर्णन पाइन्छ। मुस्ताङको ठिनी (क्हयाल्सोम्पो) सँग गुरुङहरूको ऐतिहासिक सम्बन्ध गाँसिएको छ। ठि (राजगद्दी) भएको ने (स्थान) भएको हुँदा क्हयाल्सोम्पोलाई ठिने भनेको र कालान्तरमा ठिनेबाट ठिनी भएको हो। ठिनी (क्हयाल्सोपो) लाई गुरुङहरू ठिनीकहयाल्स भन्दछन्।
गुरुङको वंशावलीमा सबुतोँक्हयाल्स (जुम्ला, सिंजा) मा आई रजाइँ गरेको उल्लेख छ। ठिनिकहयाल्ससँग नोचन खोर्लो ह्रिमरछेको पनि सम्बन्ध रहेको छ। ठिनिक्हयाल्समा अजिमोप्हजिमो नामक भूत उत्पन्न भएर उपद्रो मच्चाउँदा नोचन खार्लो ह्रिमरछेले उक्त अजिमो-प्हजिमोलाई मारी ठिनिक्हयाल्समा शान्ति र सुव्यवस्था कायम गरेर उनी त्यहाँको राजा भएको उल्लेख नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा पाइन्छ।
सगोंती क्हयाल्सामा पोंजो करू क्ल्हे (कर्जें क्हयाला) राजा भए। उनको मृत्युपछि योमै-हें भन्ने राजा भए। योमै-हें राजा त्यहाँबाट आफ्नो प्रजा र गुरुहरू (पच्यू, ध्यावृ) सबै साथमा लिएर चोंम्रु (मुक्तिनाथ) भन्ने जग्गामा बसाइ सरे। चोंम्रु भन्ने जग्गामा योमै-हें भन्ने राजाको मृत्यु भएपछि पालमा-हें भन्ने राजा भए। चोम्रु भन्ने जग्गामा ज्यादै ठण्डा र हिमपातको कारणले बस्न नसकी पुनः बसाइँ सर्ने काम भयो। बसाइ सर्ने क्रममा पालमा न्हें राजाको पनि मृत्यु भयो। र त्यसपछि क्हयाल्बो खम्पा राजा भए। चोंम्रुबाट मैजु भन्ने ठाउँमा (मैजु हयुला) बस्यो। खेतीपाती राम्रो भएतापनि बाढीपहिरोको कारणले मैजु भन्ने जग्गालाई छाडी सब्जें प्ह्रेंकुरा भन्ने ठाउँमा बसाइँ सर्यो। खेतीपाती राम्रो नभएको कारणले अनिकाल परी ठूलो समस्या भएको हुँदा जनताहरू शिकार खेल्न लेकलेक भ्रमण गर्न थाले। त्यसरी भ्रमण गरी हिंड्ने क्रममा एउटा राम्रो तथा सम्म परेको दक्षिण पूर्वको भू-भाग देखे। उक्त ठाउँलाई क्होला चिकु भन्दथे। शिकार खेल्न आएका मानिसहरू (कुग्री – नौथरे) ले उक्त ठाउँमा गई ३ गेडा करु परीक्षणका लागि रोपे।
पछि आएर हेर्दा ठूलोठूलो गाँज भएर सप्रेको साथै लामा लामा बालासमेत भएको पाइएकाले उक्त जमिनको उर्वराशक्ति राम्रो र उत्पादन राम्रो हुन सक्ने अनुमान गरी सोको विवरण राजा र प्रजाहरू सबै आ-आफ्नो श्री सम्पत्ति साथमा लिएर तीन लेक (कहो सों) तीन डाँडा काटेर सगोंती क्हयाल्सालाई पछाडि छाडेर क्होला चिकु भन्ने ठाउँमा आएर बसोबास गरे। तिनीहरू सबै तीनगाउँ, तीन थलो, तीन भाग (क्होला सोंप्रे हयुला) गरी बसोबास गरेकाले यस गाउँलाई तीनगाउँ (कहोल सोंप्रे हयुला) भनियो। पछि तिनीहरू तीन थर भएर बसेका हुनाले क्होला सोंथरे भनेर नामकरण गरियो।
क्होला क्षेत्रभन्दा बाहिर तत्कालमा माथि उत्तरबाट बसाइसराइका क्रममा कहोलामा नआई सोझै क्होलाका पूर्वमा पर्ने नौंँदी, हिन्कु, क्वाँर, तप्रां, चिक्रेसमा मानिसहरू बसोबास गरेकाले पुराना घरका भग्नावशेषहरू पाइन्छ। धेरै क्षेत्र ओगटेका “क्होला सोंथर” राज्यमा “रुजुक्ल्हे” भन्ने राजाले आफ्नो अधिकार जमाएको पाइन्छ। राज्य सञ्चालन राम्रैसँग व्यवस्थित गरेर चलाएको देखिन्छ। राज्यका मन्त्रीहरू, करिन्दा, खेगी, म्हिग्रेचोगी लगायत जनताहरू मिलेर व्यवस्थित प्रकारले राज्य सञ्चालन भएको पाइन्छ।
तिब्बतका हिमाली घाँच र घाँटी काटेर मनाङको बाटो हुँदै लमजुङको घनपोखरा, घेर्मु र कास्कीको सिक्लेसमा बसोेबास गर्न आइपुगेका गुरुङ घलेहरूले यशोब्रहम शाह पूर्व लमजुङमा राज गरेका थिए। घले राज्य (घले गाउँ) राज्य व्यवस्था सञ्चालन गर्न नालसभार (सांसद) समेतको व्यवस्था भएको बुझिन्छ। तत्कालीन राज्य व्यवस्था जनसमर्थन र विश्वासको आधारमा चलेको देखिन्छ। गोरखा राजवंशको उदयपूर्व गुरुङ पश्चिमी नेपालको केही भागमा स-साना ठकुराइमा विभक्त थिए।
अशोक चल्लको शक्तिशाली सेना, राज्य विस्तार स्वरूप र उनको लामो शासनकाललाई दृष्टिगत गर्दा गण्डकी प्रदेशका गुरुङ – मगर मुखियाहरूले अधीनता स्वीकार गरी उनको साथ दिएकोमा शंका छैन। इतिहासको मध्यकालमा आएर स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा १२ मगराँतमध्येका केही भुरे राज्यहरू थिए भने जिल्लाको पूर्व भागमा टाकुरे राज्यमध्येका राज्यहरू थिए। जसमा मगरात (भुरे) राज्य मगरहरूका राज्य थिए भने टाकुरे राज्यहरू गुरुङ राज्य थियो। गोरखा राज्यका संस्थापक द्रब्य शाह गोरखामा प्रवेश गर्नुभन्दा पहिले यो जिल्लाको लिगलिग कोटमा घले राजाहरू थिए भन्ने कुरा इतिहासकारहरूले प्रमाणित गरेका छन्। यसबाट के प्रष्ट भएको छ भने चार–पाँच सय वर्ष पहिलेदेखि नै गुरुङहरूले गोरखामा महत्वपूर्ण स्थान ओगटेका छन्।
गोरखाको वारपाकमा रहेको वारपाककोटलाई पनि महत्वपूर्ण केन्द्रकै रूपमा मानिएको थियो। वारपाकमा घले राजाहरूको शासन कायम थियो। घलेहरूलाई पूर्ण शाहले जिती गोरखामा सम्मिलित गरेका थिए। तर केही समय पछि वारपाक फेरि स्वतन्त्र भयो र राम शाहले यसलाई अधीनस्त पारेका थिए। वारपाकमा तल्लो र माथिल्लो गरी दुई कोट रहेका छन्। गोरखाका ३२ कोटहरूमध्ये लिगलिगकोट पनि त्यतिकै महत्वपूर्ण रहेको छ। द्रब्य शाहले लिगलिगकोट विजय गरिसकेपछि गोरखा राज्यलाई हात पार्न सफल भएका थिए। त्यसबेला लिगलिगकोटमा घले राजाहरू थिए। उनीहरूले राजा छान्ने काममा लागेको बेलामा द्रब्य शाहले हमला गरी लिगलिग हात पार्न सफल भए।
लिगलिग राज्यपछि फेरि स्वतन्त्र राज्यको रूपमा रहन गयो। यसलाई पुनःविजय गर्ने काम पूर्ण शाहले गरेका थिए। लमजुङमा शाहवंशको उदय भएपछि राज्य बढाएर हालको मनाङ जिल्लासम्म पुगेका थिए। त्यहाँका घले राजाहरूलाई हराई मनाङ क्षेत्र पनि लमजुङ राज्य अन्तर्गत गाभियो। यसरी मनाङ सहितको लमजुङ राज्यमा शाहवंशको राज्यपरम्परा कायम गर्न यशोब्रहम शाह हुन् भन्ने कुरामा कुनै मतभेद छैन।



लाेकपाटी न्यूज

