कुनै पनि शब्दको अर्थ हुन्छ। यसरी अर्थ दिने शब्दको व्युत्पत्ति कसरी भयो होला भनी विद्वान्हरूले अनुसन्धान गरेका हुन्छन्। विशेष गरी जातजाती, देश सम्बन्धी शब्दका व्युत्पत्तिबारे विद्वानहरू झनै गहनतापूर्वक अनुसन्धान कार्यमा लागेका हुन्छन्। त्यस्ता विशिष्ट विद्वान्हरूको खोजीनीतिअनुसार तमू तथा गुरुङ शब्दको व्युत्पत्ति निम्न बमोजिम भएको देखिन्छ।
तमु तथा गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन्। तमू शब्द दुई अक्षरले बनेको छ। यस शब्दमा प्रयोग भएको ‘तमू’ अक्षरमा ‘त’ को अर्थ वज्र, माथि, घोडा र वञ्चरो जनाउँछ। ‘मू’ को आकाश हो। त्यसैले तमूको अर्थ आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन्। त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइ पनि छ। जसको अर्थ खेतला वा कृषक हुन्छ। तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ।
घोरङको अर्थ ‘पाल’ हो भन्ने अर्को भनाइ छ। गुरुअङ्गबाट गुरुङ भएको हो भन्ने पनि कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएका हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्हरूले अगाडि सारेका छन्। डा. हर्क गुरुङको भनाइ अनुसार गुरुङ शब्दको उत्पत्ति तमू शब्दको ‘कुक्रोहा’ कु (नौ) क्रोहों (मुखिया) अर्थात् नौ मुखियाको अपभ्रंश भएर गुरुङ भएको हो।



लाेकपाटी न्यूज

