काठमाडौं। पुएर्तो रिकोमा मंगलवार ६.६ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण भवनहरू क्षतिग्रस्त भएका छन्। विगत दुई हप्तामा उक्त क्षेत्रमा लगातार भूकम्प आइरहेको छ र यो भूकम्प सबभन्दा ठूलो हो।
भूकम्प स्थानीय समयअनुसार बिहान ४ः२४ मा आएको हो। त्यसको केन्द्रविन्दु ताल्लाबोआभन्दा तीन माइल दक्षिणमा रहेको र ६ माइलको गहिराइबाट आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। प्यासिफिक सुनामी वार्निङ सेन्टरले लगभग ०.०६५ फीट अग्लो सुनामी देखिएको जानकारी दियो। तटीय क्षेत्रका मानिसहरू चनाखो हुनुपर्ने उसले बतायो।
तर सुनामीको उच्च जोखिम भने नरहेको उसको भनाइ छ। भूकम्पपछि पुएर्तो रिकोको विद्युत् प्राधिकरणले सुरक्षाका लागि बिजुली कटौती गरेको छ। स्थिति सामान्य बनेपछि फेरि लाइन दिने उसले जनायो।



लाेकपाटी न्यूज

