काठमाडौं। राजपा नेपालका वरिष्ठ नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरूको कुनै दाबी नरहेको स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता कर्णले सो कुरा बताएका हुन्।
उनले भने, ‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन। किनकि हाम्रो सामर्थ्य छैन। यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौँ। तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौँ।’
प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाइएको भन्दै कर्णले गुनासो पोखे। उनले भने, ‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए। तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरा पनि उल्लेख छैन। यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौँ। सिट बाँडफाँड मात्रै हो।’
प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आफू मुख्यमन्त्री बन्न तयार रहेको भन्दै दिएको प्रतिक्रियाबारे टिप्पणी गर्दै कर्णले भने,‘ऋषिजीले जितेन्द्र सोनलले मसँगको अन्तर्वार्तामा मुख्यमन्त्री बन्छु भन्नुभयो भन्ने कुरा आयो, म त भन्छु प्रदेश सभा सदस्य सबै मुख्यमन्त्रीको लागि योग्य हुनुहुन्छ। उहाँको अपेक्षा गलत होइन।’
उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे। उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदै छ। चुनाव सकिए लगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ। नेकपा विदेशी पार्टी होइन। यो पनि यही देशको पार्टी हो। हामी अहिले पनि साथमै छौँ। हामीबीच सहकार्य बढ्दै जान्छ।’



लाेकपाटी न्यूज

