काठमाडौं। इराकको संसदले सबै विदेशी सैन्यबललाई देश छाडेर जाने प्रस्ताव पारित गरेको छ। इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले इराकको राजधानी बगदादमा हत्या गरिदिएपछि आइतबार इराक संसदले यो प्रस्ताव पास गरेको हो।
इराकमा हाल पाँच हजार अमेरिकी सैनिक छन्। इराकी संसदले आफ्नो सरकारसँग विदेशी सैन्यबललाई इराकको भूमि, हवाइ र जलक्षेत्र प्रयोगमा रोक लगाउन पनि भनेको छ। संसदले इराकी सरकारलाई अमेरिकी सेनाको सबै सहयोग बन्द गर्न पनि निर्देशन दिएको छ।
अल अरबियाका अनुसार इराकी संसदको विशेष सत्रमा कामचलाउ प्रधानमन्त्री अब्दुल महदीले चाँडोभन्दा चाँडो इराकमा विदेशी सेनाको उपस्थिति हटाउनुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री महदीले इराकले भोग्दै आएको आन्तरिक र बाहृय समस्या आफै समाधान गर्ने पनि बताए।
इराकी प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर मारिएको घटनालाई राजनीतिक हत्याको संज्ञा पनि दिएका छन्। इराकले संसदबाट विदेशी सैनिक हटाउने प्रस्ताव पास गरे पनि सजिलै अमेरिकी सैनिक हट्ने भने छैनन्। अमेरिकी सेनालाई हटाउन इाकी संसदमा विधेयक ल्याएर अमेरिकासँगको सम्झौता भंग गर्नुपर्ने छ।
इराकबाट विदेशी सैन्यबल हटाउन संसदबाट पास भएको यो प्रस्ताव प्रधानमन्त्रीले हस्ताक्षर गरेर अनुमोदन गरेपछि कानुन बन्नेछ। यो कानुन लागू भए इराकमा कुनै अरू देशका सैन्यबल रहनु गैरकानुनी मानिनेछ। इराक र अमेरिकाबीच भएको सम्झौता अनुरूप अमेरिकी सैन्यबल इराकमा रहँदै आएको छ। इराकले यो सम्झौता खारेज गरेमा अमेरिकी सैन्यबलले इराक छाड्नुपर्नेछ।
अब्दुल महदीले गत महिनादेखि चलिरहेको सरकारविरोधी प्रदर्शनपछि राजीनामा दिएका थिए। उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका छन्। इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन्।
त्यहाँ दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन्।



लाेकपाटी न्यूज

