काठमाडौं, २० पुस । अष्ट्रेलियाको जंगलमा चार महिनादेखि लागेको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ। अष्ट्रेलिया मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ ।
गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करिव ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ। आगोले २ सय बढी घरमा क्षति पुगेको छ। थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन।
युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ। यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन्। न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जङ्गलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको जनाएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिति बताएको छ ।
यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको जनाइएको छ। आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुस्किल भएको छ। मानिसहरु घर छोडेर भागिरहेका छन्। मृतकको संख्या लगातार बढिरहेको छ। अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ।
भिक्टोरियाको स्थिति थप भयानक बनिरहेको छ। शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ। बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नु परेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ।
मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ। यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा र्पुयाइरहेको छ। आगोका कारण हजारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन्। न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ। तर जङ्गलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ।













लाेकपाटी न्यूज

