काठमाडौं, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ। राष्ट्रियसभा सदस्यको १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको हो।
उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए। बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो। आगामी फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन् लागेको हो ।
निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन्। निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी परेको छ। प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक÷एक पदका लागि दुई÷दुई जनाले उम्मेवारी दर्ता गराएका छन्। प्रदेश नं ३ मा महिला र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ।
गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक÷एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक÷एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ।
कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ।
उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन्। राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमूख र उपप्रमूख, प्रदेशसभाका सदस्य हुन्।



लाेकपाटी न्यूज

