स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन्।
खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन्। मन्त्री अर्यालले भनिन्, ‘सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ। त्यसैको सुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौँ।’
जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालले नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मूल पारिने बताइन्। खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गर्ने उनले भनिन्।
स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँच वटा पालिकाका दुई सय ५० खरका छाना हटाइने उनले बताइन्। स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यस वर्ष दुई सय ५० घरपरिवारलाई ५० हजारका दरले दुई किस्ता गरी रकम दिइनेछ।
बाँकी रहेका खरका छानाको लगत सङ्कलन गरी पुन यसरी नै खरका छाना हटाइनेछ। मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्ष दुई सय ५० घरपरिवारमा टिनका छाना लगाउने अभियानको थालनी गरेकी हुन्।



लाेकपाटी न्यूज

