नेपालमा पाइने पाँच प्रकारका जङ्गल कुन-कुन हुन् ?

forest-in nepal
लाेकपाटी न्यूज

कुनै ठाउँको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन्। हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुँदा यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ। नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ। यद्यपि विगत केही दशकयता वन सम्पदामा व्यापक ह्रास आएको छ।

सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा बढी भू–भाग वन जङ्गलले ढाकेको थियो तर, सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहन गएको तथ्य खुलासा गरेको छ। यही अध्ययनले नेपालको तराई क्षेत्रको वन प्रतिवर्ष १.३ प्रतिशतले विनास हुँदै गएको देखाएको छ।

विगतका दशकहरूमा आवास तथा पुनर्वासका लागि धेरै ठाउँहरूमा वन फडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो। नेपालको भू–धरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छः

(क) उष्णप्रदेशीय सदाबहार जङ्गल :– तराई, भावर, दुन, चुरे पर्वतको १२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुने हुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सधैं हरियाभरिया हुन्छन्। पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ। यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन्। यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुँदा यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ।

(ख) समशितोष्ण पतझर जङ्गल :– नेपालमा १२०० मिटरदेिख २१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पवर्तको तल्लो भागको समशिताेष्ण पतझर जङग्लमा पाइने रूख अग्ला र माटो हुन्छन्, तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन श्रृङ्खलालाई पतझर भनिएको हो। उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङग्ल पाइन्छ।

यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, दवेदारू, चाप, कटुस, आखेर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तीस, पलाँस, लाकुरी, चाप प्रमूख छन्। यस्ता वन उष्णप्रदेशीय सदाबहार जङग्लभन्दा कम गुणस्तरको मानिन्छ।

(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल :– महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २१०१ मिटरदेखि ३३५९ मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ। यहाँ वर्षैभरि चिसो हुने र हिमपात भइरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन्। यहाँको माटो सेपिलो हुने हुँदा सदाबहार जङ्गल हुन्छ। यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारू, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तीस, बाँस, गुराँस, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन्।

(घ) लेकाली वनस्पति वा घाँसे मैदान :– नेपालमा ३,३५१ मिटरदेखि ५,९९९ मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ। यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुँदा यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन्। लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६९९ मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठूला ठूला फाँटहरू पाइन्छन्। माथिल्लो भागमा रङ्गविरङ्गका बुकी फूल, जडीबुटीहरू पाइन्छन्।

(ङ) शीत मरूभूमिको वनस्पति :– नेपालमा ५,९९९ मिटरको उचाइभन्दामाथि हिउँ पर्ने हुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाउँमा काई र लेउमात्र पाइन्छन्। उम्रिन र हुर्कन नसक्ने यस्तो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति भनिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्