चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयमा ‘जंक फूड’ निषेध गरिनु पर्ने धारणा राखेकी छन्। आज श्री मावि ढड्डाघारीको ५६ औँ वार्षिक उत्सवमा विद्यार्थीलाई दूध, पनिर, मिठाई लगायतका दुग्धजन्य खानेकुरा वितरण गर्दै सो कुरा बताएकी हुन्।
‘जंक फूड’ स्वास्थ्यका लागि हानिकारक भएकोले यसको प्रयोगलाई निरुत्साहित गरी दुग्धजन्य खानेकुरामा जोड दिन आग्रह गरेकी छन्। उनले दूधको गुणस्तरीय उत्पादनको प्रयोग गरी स्वस्थ बन्न सबै सचेत हुनुपर्ने बताइन्। दुग्धजन्य खानेकुराको निरन्तर प्रयोगले सबै उमेर समूहको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
प्रमुख दाहालले दूधमा पाइने जति पोषण अरू केहीमा नपाइने उल्लेख गर्दै बालबालिका र विद्यार्थीहरूका लागि दूधको प्रयोग अनिवार्य भएको बताइन्। विद्यालय दुग्धजन्य पदार्थको प्रयोग सचेतना कार्यक्रम अन्तर्गत दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उनले गुणस्तरीय दूध उत्पादन र यसको बजारीकरणमा लाग्न सबैलाई आग्रह गरिन्।
कार्यक्रममा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले विद्यार्थीहरूलाई दूधको महत्त्व र यसको सेवनमा प्रेरित गर्न विद्यालय दुग्धजन्य पदार्थ सचेतना कार्यक्रम सञ्चालन गरिएको भन्दै यसलाई व्यापक बनाउन बोर्डले काम गरिरहेको बताए। कार्यक्रममा बोर्डका सञ्चालक समिति सदस्य भागिरथ तिमिल्सिना लगायतले कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा जानकारी गराएका थिए।



लाेकपाटी न्यूज

