वैज्ञानिक न्युटन : डाक्टरले भनेका थिए, ‘यो धेरै बाँच्दैन’ (जीवनी)

Sir-Isaac-Newton
वैज्ञानिक हुन विश्वास होइन, सन्देश चाहन्छ। जसले आँखा चिम्लेर विश्वास गर्छ, त्यो कहिल्यै वैज्ञानिक हुन सक्दैन। जहाँ प्रश्न हुँदैन, जहाँ जिज्ञासा हुँदैन, जहाँ शंका हुँदैन, त्यहाँ आविस्कार जन्मिँदैन।
लाेकपाटी न्यूज

काठमाडौं। प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनको जन्म २५ डिसेम्बर १६४२ मा भएको हो। उनको जन्म इङ्गल्याण्डको उल्सथोर्पमा भएको थियो। जन्मनुपूर्व नै उनले बाबु गुमाएका थिए उनी महिना नपुग्दै जन्मेकाले तौलका हिसाबले कम, साना र ख्याउटे थिए। उनी जन्मिएपछि डाक्टरहरुले भविष्यवाणि गर्दै भनेका थिए, ‘यो बच्चा धेरै बाँच्दैन।’

लोग्नेको मृत्युपछि उनकी आमा हान्ना न्युटनले अर्कैसँग बिहे गरिन्। त्यसैले उनको पालनपोषण मामाघरमा हुन थाल्यो। उनी बज्यैसँग बस्न थाले। बाह्र वर्षको उमेरमा उनलाई बज्यैले ग्रान्थम स्कुलमा भर्ना गरिदिइन्। उनी शारीरिक रुपमा जति निर्बलिया थिए, त्यति नै पढाइमा पनि कमजोर र मन्दवुद्धिका थिए। उनी किताब पल्टाउनै मान्दैनथे। शिक्षकले प्रश्न सोध्लान् भनेर उनी कक्षाको अन्तिममा बस्थे। उनी आफूलाई असाध्यै कमजोर र हीन सम्झन्थे।

स्कुलमा एकजना अलि ठूलो केटोले उनलाई असाध्यै सताउने गर्दथ्यो। एकदिन त अति नै भएपछि उनी उक्त केटोमाथि जाइलागे। अचानक आफूमाथि जाइलागेपछि त्यो केटो पनि डरायो। सधैँ आफूलाई पिट्ने केटोलाई त्यसरी आफूले पनि पिट्न सकेकोमा उनी आफै छक्क परे। यसबाट उनमा आत्मविश्वास बढ्यो। अनि बिस्तारै उनमा रहेको हीन भावना हट्दै गयो। त्यसपछि उनले पढाइमा पनि प्रगति गर्न थाले। उनले खुब पढ्न थाले। पछि त सबैलाई उछिने।

सन् १६५६ मा आफ्नो दोश्रो लोग्ने पनि मरेपछि उनकी आमा हान्ना न्युटनले उनलाई उल्सथोर्पमा नै लगिन् र खेतमा काम गर्न लगाइन्। उनलाई विज्ञान खुब मन पथ्र्यो। काम गर्दागर्दै उनले रुखमुनि बसेर पुराना मेसिन आफै खोल्ने र फेरि बनाउने गर्थे। एकदिन हुरी चलेर घरबालीमा नोक्सान पुर्‍यायो। तर, उनी भने हावाको गति नाप्न पो थाले। उनी हावासँगै कुदे, विपरित दिशामा कुदे र हावाको गति नाप्न थाले।

न्यूटन विज्ञानकै संसारमा रमे। पछि उनलाई फेरि स्कुल पठाइयो। उनले पन्ध्र वर्षमै गणित र यन्त्रहरूसँग खेल्न थाले। विभिन्न औजार थुपारे। उनले त्यति सानो उमेरमै टेलिस्कोप, हावाचक्की, सूर्यघडी जस्ता यन्त्रहरु बनाए। उनी जति सिर्जनशील थिए, त्यति नै चकचके पनि थिए। उनी एकछिन पनि चुप लागेर बस्दैनथे। उनी राति चङ्गा उडाउँथे।

Isaac-Newton-art

एकदिन उनी बगैँचामा स्याउको बोटमुनि खेलिरहेका थिए। उनी खेलमा मस्त थिए। तर, अचानक उनको टाउकोमा कुनै वस्तु बर्षियो। त्यो वस्तु थियो– स्याउ। स्याउ आफ्नो टाउकोमा खसेको देखेर उनी आश्चर्य चकित हुन पुगे। स्याउ किन माथि गएन ? कसरी तल खस्यो ? घटना त साधारण थियो। तर, उनका लागि त्यो रहस्यमय भयो। अनि उनी त्यसकै खोजमा लागे दिनरात, हरपल, हरक्षण। त्यसकै खोजमा लाग्दालाग्दै उनले ठूलो भएपछि गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए।

न्युटनको स्याउको कथा अनुसार स्याउको बोटमुनि बसिरहेको बेलामा स्याउ न्युटनको टाउकोमा खस्यो र त्यसैलाई आधार बनाएर उनले गुरुत्वाकर्षणको नियम पत्ता लगाए। उनको अनुसन्धानले अन्ततः विश्वव्यापी मान्यता पायो। उनले सन् १६८६ मा गुरुत्वाकर्षणको नियम पत्ता लगाए, १६८७ मा चालका नियमहरु प्रतिपादन गरे। न्यूटनको चाल सम्बन्धी तीन नियम छन्।

न्युटनको चाल सम्बन्धी पहिलो नियम अनुसार प्रत्येक पिण्डमाथि यदि कुनै प्रकारको बाहिरी बलको प्रयोग भएन भने यदि त्यो वस्तु स्थीर अवस्थामा छ भने स्थीर अवस्थामा र चालमा छ भने एउटा सरल रेखामा समान चालमा नरोकिकन चलिरहन्छ। चालको दोस्रो नियम अनुसार प्रवेग बलसँग प्रोपोशनल हुन्छ भने प्रवेग पिण्डसँग इन्भर्सली प्रोपोशनल हुन्छ। चालको तेस्रो नियम अनुसार प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रया हुन्छ। यसलाई चाल सम्बन्धी तीन नियम भनिन्छ।

न्युटन सानैदेखि हावामिल, घडी तथा खेलौना लगायतका राम्रा चित्रहरु बनाइरहन्थे। उनले सन् १६६५ मा क्याम्व्रिज विश्वविद्यालको ट्रिनटी कलेजबाट डिप्लोमा उत्तीर्ण गरेका थिए। उनले सन् १६७७ देखि आफूले पढेको कलेजमा प्राध्यापकको रुपमा कार्य गरेका थिए। त्यस समयमा पनि उनले गणित र भौतिक विज्ञानमा धेरै नै परीक्षणहरु गरिरहन्थे। त्यसैको प्रतिफल प्रकाशमा सात रङ हुन्छ भन्ने कुरा प्रिज्मबाट आवर्तन गरी प्रमाणित गरिदिए।

न्यटनको गुरुत्त्वाकर्षणको नियमको साथै उनको सम्पूर्ण वैज्ञानिक उपलब्धी र अल्बर्ट आइन्स्टाइन लगायत धेरैजसो वैज्ञानिकहरुले पूराना मान्यतामाथि प्रश्न उठाएका थिए। वैज्ञानिक मानसिकताको मुख्य आधार सन्देह हो, विश्वास होइन। जसले आँखा चिम्लेर विश्वास गर्दछ, त्यो कहिल्यै पनि वैज्ञानिक हुन सक्दैन। उसले वैज्ञानिकत्व प्राप्त गर्न असमर्थ हुन्छ। न्युटनले पुराना मान्यतालाई हुबहु स्वीकार गरेको भए न उनी वैज्ञानिक हुन्थे, न गुरुत्वाकर्षणको नियम, चाल सम्बन्धी नियम र अन्य वैज्ञानिक मान्यताहरु परिकल्पना गर्न सम्भव हुन्थ्यो। पूराना मान्यतामाथि सन्न्देश गरेर नै उनी वैज्ञानिक अनुसन्धानमा सफल भए।

उनले आफ्ना आविष्कारहरूलाई पुस्तकमा उतार्ने काम गरे। एडमन्ड ह्यालेको आग्रहमा उनले यो काम गरे। ह्यालेले नै उनको ‘प्रिन्सिपिया’ पुस्तक प्रकाशित गरिदिए। त्यसबेलासम्ममा उनी प्रसिद्ध भइसकेका थिए। मानसम्मान पनि पाए। ब्रिटिस संसद्का सदस्य पनि भए। सन् १६८४ मा अन्वेषणसम्बन्धी प्रकाशित पुस्तक ‘फिलसोफिया चेचरलिस प्रिन्सिपिया म्याथमेटिक’मा उनले गुरुत्वाकर्षण शक्तिको बारेमा उल्लेख गरेका थिए।

न्युटन सन् १६८९ मा विश्वविद्यालयको प्रतिनिधिको रुपमा संसदको सदस्य भएका थिए। त्यसैगरी उनी सन् १७०३ मा रोयल सोसायटी, लण्डनको अध्यक्ष भई आजीवन उक्त पदमा रही काम गरे। सन् १६९९ मा उनी टक्सारका मास्टर पनि बने। सन् १७०३ मा रोयल सोसाइटीका अध्यक्ष बने र सन् १७०५ मा महारानीले सरको उपाधि दिइन् र त्यसपछि उनी ‘सर आइज्याक न्युटन’ भए। सन् १७२७ को मार्च २० मा लण्डनमा उनको मृत्यु हुन पुग्यो। यसरी विश्वले एक प्रसिद्ध वैज्ञानिक गुमायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्