माेहनविक्रम सिंह भूमिगत जीवनबाट खुला हुने, सार्वजनिक कार्यक्रममा सहभागी हुने निर्णय

Mohan Bikram pic
लाेकपाटी न्यूज

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिने भएका छन्। नेकपा (मसाल) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारहरूमा जानसक्ने निर्णय गरेको हो।

नेकपा (मसाल) को संगठनात्मक संरचना भूमिगत छ भने महामन्त्री अर्धभूमिगत रहने प्रणाली छ। पछिल्लो समय उनका तस्विरहरु सार्वजनिक हुने गरेका थिए। महामन्त्री सिंह आजसम्म कुनै सार्वजनिक मञ्च वा टेलिभिजनमा गएका छैनन्। उनको अन्तर्वार्ता लिन वा विचार बुझ्न विभिन्न सञ्चारमाध्यमले बारम्बार प्रयास गरे पनि श्रव्यदृश्य समाचारमा नजाने पार्टीको नीतिका कारण त्यो सम्भव भएको थिएन।

तर केन्द्रीय समितिको निर्णयसँगै उनलाई टिभी कार्यक्रममा जान बाटो खुलेको हो। वर्तमान राजनीतिका शिखर पुरुष महामन्त्री सिंहको विश्लेषण नेपाली राजनीतिमा लगातार मेल खाने गरेको छ।