काठमाडौं, १८ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउने गरी लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन्। उनले भने, ‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ। म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’ साक्षात्कारमा बोल्दै उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराई सकिने विश्वास दिलाएका हुन्।
उनले भने, ‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाई दिने प्रतिबद्धता व्यक्त गर्दछु। सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ।’ उनकाअनुसार १३ वटामध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ। उनले भने, ‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं । र त्यो कार्यदलले १५ दिनभित्र प्रतिबद्धता दिनेछ। त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं। अब उखु किसानहरुलाई दिइने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’
उनले आफूहरुले उखु किसानहरुको मागलाई गम्भिरतापूर्वक लिएको सुनाउँदै किसानको समस्या समाधान गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। उनले भने, ‘अब शंका उत्पन्न गर्न दिन्नौं ।’ उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए । मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चिनी चाहिने आवश्यकत्ता औंल्याए । उनले भने, ‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ। हामीलाई अझै ६५ हजार अभाव छ। सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’



लाेकपाटी न्यूज

