चितवन, १६ पुस। चितवनको पर्यटकीय गन्तव्य पटिहानीमा भव्य रुपमा भ्रमण वर्षको सुरुवात गरिएको छ।बुधबार एक कार्यक्रमकाबीच पर्यटकहरुलाई स्वागत गर्दै भ्रमण वर्षको सुरुवात गरिएको हो।
भरतपुर महानगरपालिका २२ नम्बर वडा कार्यालय र पटिहानी पर्यटन विकास समितिको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो। पर्यटकहरुलाई फूलमालाका साथ गाडामा राखेर पटिहानी परिक्रममा गराइएको थियो ।
कार्यक्रममा पर्यटकहरुलाई गाडामा राखेर वडा कार्यालय परिसर धनौजीदेखि पटिहानी बजार हुँदै पर्साचोकसम्म बाजागाजा, विभिन्न जातिको भेषभुषा र झाकीसहित स्वागत तथा सम्मान गरिएको वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए।
पछिल्लो समय पटिहानी नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ। यहाँ ठूला-ठूला होटलहरु सञ्चालनमा छन्। यहाँबाट दुर्लभ एक सिंगे गैंडा अवलोकन, जीप सफारी, थारु साँस्कृतिक नृत्यलगायत मुख्य आकर्षणको केन्द्र रहेको छ।
प्रदेश सांसद रामलाल महतोको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलिया, उपाध्यक्ष साजन कुमार महतो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), भरतपुर २२ का अध्यक्ष रामहरि सेढाई, नेपाली काँग्रेस वडा सभापति कुमारप्रसाद थपालिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा विभिन्न टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो।







लाेकपाटी न्यूज

