कति छ ट्रम्पका छोराछोरीसँग सम्पत्ति ?

लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै वर्ष पहिले नै फोर्ब्स पत्रिकाले सार्वजनिक गर्ने धनीहरुको सूचीमा आफ्नो नाम लेखाइसकेका थिए। आजभोलि फोर्ब्स पत्रिकाले त्यति बेला ट्रम्पले आफूलाई अझ माथिल्लो स्थानमा देखाउन लबिइङ गरेको विषयमा लेख्न थालेको छ।

त्यति बेला ट्रम्प आफ्नो सम्पत्तिबारे बारम्बार भन्न चाहन्थे, आफूलाई धनी देखाउन चाहन्थे। तर, फोर्ब्स पत्रिकामा चेस पिटर्सनले लेखेको एक रिपोर्टमा चाहिँ ट्रम्पका तीन छोराछोरीले यस विषयमा केही भन्न नचाहने उल्लेख गरिएको छ।

फोर्ब्सले यसबारेमा लामो अनुसन्धान गरेको छ। अनुसन्धानअनुसार ट्रम्पकी छोरी इभान्का ट्रम्प छोराछोरीमा सबैभन्दा धनी देखिएकी छिन्। फोर्ब्सको रिपोर्टमा जनाइएको अनुसार उनीसँग करिब ३७५ मिलियन अमेरिकी डलर सम्पत्ति छ। तर, ट्रम्पका दुई छोरा डोनाल्ड ट्रम्प जुनियर र इरिक ट्रम्पसँग २५ मिलियन अमेरिकी डलर सम्पत्ति छ।

डोनाल्ड ट्रम्पले आफ्ना दुई सन्तान २६ वर्षकी छोरी टिफानी र १३ वर्षका छोरा बारोनलाई चाहिँ अहिलेसम्म सम्पत्ति नदिएको फोर्ब्सको रिपोर्टमा उल्लेख गरिएको छ। त्यसो त अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको नाममा पनि ट्रम्पले एउटा मात्र बिल्डिङ राखेका छन्। ट्रम्पका छोराछोरीको उनको व्यवसायमा पनि उल्लेख्य सेयर छैन।

बरु उनीहरुले वर्षेनी तलब चाहिँ ट्रम्प अर्गनाइजेसनबाट नै निकै धेरै पाउँदै आएका छन्। ट्रम्पका छोराछोरीमध्यै सबैभन्दा सफल चाहिँ इभान्का ट्रम्प नै देखिएकी छिन्। उनले आफ्नै उत्पादनहरुमा पनि काम गरेकी छिन्। उनले सन् २००७ देखि नै एक गहना पसल खोलेकी थिइन्।