सन् २०२० आरोग्य र प्रगतिको वर्ष बन्नेछ : प्रधानमन्त्री

KP Sharma Oli
लाेकपाटी न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० नेपाल र नेपाली जनताका लागि आरोग्य र प्रगतिको वर्ष बन्ने बताएका छन्। नयाँ वर्ष सन् २०२० का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले २०२० प्रगतिको वर्ष बन्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा विश्वभरि चिनाउन सबै नेपालीमा आग्रह पनि गरेका छन्। प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘नयाँ वर्ष सन् २०२० लाई हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं। सन् २०२०ः स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्।’

शुभकामना सन्देश

आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गर्दछु। ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्वतको पात्रोअनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ। वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्बत्लाई हामी अंग्रेजी नयाँ वर्षका रुपमा मनाउँछौं।

हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो। यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गर्‍यौं। यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्‍यौं। विकासका केही दूरगामी योजनाहरु यसैवर्ष थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गर्‍यौं। चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ। ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरि हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं। निराशाहरु विनिमय गरि समय ब्यतीत गर्ने हाम्रो समाजिक प्रवृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको छ। अर्थात्, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन्। समग्रमा राजनीतिक संघर्ष र ब्यवस्थापनको बहसबाट सिंगै समाज यस अवधीमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ।

अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौति अवश्य रहे। हामीले त्यस्ता अवरोधहरुलाई भोग्यौं पनि। तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं। राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु। अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाईमा उठ्नेछ। जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ। निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा बिफल हुन दिनेछैन। सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु।

अन्त्यमा, नयाँ वर्ष सन् २०२० लाई हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं। सन् २०२०ः स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्, पुनः हार्दिक शुभकामना।

new year 2020

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्