राजनीतिमा उच्च जातिहरुको हालीमुहाली छ। थरिथरिका राजनीतिक नारा बोकेर तिनीहरु राजनीतिमा सफल हुन्छन्। कतिपय त जनसम्पर्कबाट पुरै बिमुख हुन्छन्। तिनीहरुको शैली अचानक, अस्पस्ट र व्यक्तिगत सम्बन्धमा आधारित हुन्छ, अमुर्त मुद्दाको उठान गर्छन्। स्थापित र विकाशशील राजनीतिक अंग हुनुभन्दा पनि ति व्यक्तिहरु क्रान्तिकारी र आदर्श प्रजातन्त्रवादी देखिने प्रयत्न गर्छन्, जबकि तिनीहरु जनताको वास्तविक आवश्यकता र संस्कृतिबारे अनभिज्ञ नै रहन्छन्। यस्ता व्यक्तिहरुले नै राजनीतिक विपक्षको भूमिका खेलेका छन्।
बाहुन छेत्रीहरु नेपालमा अल्पमतमा छन्। अल्पमतमा भए पनि तिनीहरु शक्तिशाली छन्। शिक्षक, प्रोफेसर, शिक्षाविद, बुद्धिजीवि, र पत्रकारहरुको ठूलो हिस्सा उच्च हिन्दू जाति बाहुन छेत्री र नेवारमा श्रेष्ठ जातिहरु छन्। यिनीहरु सबैको नेपालका अरु जातिहरुप्रति हेर्ने धारणा वर्णवादी श्रेणी बिभाजनबाट प्रभावित छ। परिणामस्वरुप, नेपालभित्रका र बाहिरी जगतका जानकारीहरु प्राप्त गर्ने र प्रसारण गर्ने काममा यी वर्ण बिभाजनकारी उच्च जातिहरुको नियन्त्रण छ।
उच्च हिन्दू जातिहरु र वर्ण बिभाजनबाट प्रभावित अन्य जातिका सदस्यहरु नै नेपालको प्रशासनमा हावी छन्। निजामति प्रशासनले नेपालको राजनीतिक जीवनमा महत्वपूर्ण भुमिका खेल्दछ र विगत तीस वर्षहरुमा (पञ्चायतकालिन) निजामति प्रशासनमार्फत् नै सरकारको प्रभावकारी सञ्चालन भयो। नेपालको निजामति प्रशासनलाई यसको आफ्नै आवश्यकताले भन्दा पनि उच्च जातिहरु बाहुन, छेत्री र श्रेष्ठ नेवारहरुको परम्परागत भर्ती केन्द्रका रुपमा प्रयोग गरियो। धेरैजसो यी उच्च जातिका मान्छेहरु सरकारी प्रशासनको काम उनीहरुको नैसर्गिक अधिकार भन्ठान्छन्।
यी उच्च जातिका मानिसहरुले आफ्नो मान्छेको सम्पर्क प्रयोग गरेर सजिलै सरकारी जागिर पाउँदछन्। सबै हिन्दू उच्च जातिका मानिसहरु परम्परावादी नै छन् भन्ने पनि होइन। तर, जो धर्मसँग त्यति वास्ता राख्दैनन्, उनीहरु पनि आफ्नो वर्णभेदी लालनपालन र भाग्यवादी दृष्टिकोणबाट मुक्त हुन सकेका छैनन्। कतिपयले आफ्नो व्यक्तिगत अध्ययन र अनुभवबाट सिक्दै भाग्यवादी सोचसँग संघर्ष पनि गर्छन्। तर तिनीहरुको सोच पनि जातीय वर्णविभाजनको प्रभावबाट मुक्त हुन सक्दैन, जसले गर्दा तिनीहरु फेरि पण्डित नै रहन जान्छन्। तिनीहरु नास्तिक, विदेशमा शिक्षित, उच्च प्रशिक्षित व्यवसायिक डिग्रीवाल, वा देश विदेशको भ्रमण गरेका हुन सक्छन्। तर, तिनीहरुको प्रवृत्ति फेरि पनि जातीय वर्णभेदबाट नै प्रभावित हुन्छ।
त्यस्ता व्यक्तिहरु अकर्मण्य पलायनवादी हुन्, जो दरिद्र नेपालको कुनै भविष्य देख्दैनन्। तिनीहरु समस्याको समाधानतर्फ भन्दा पनि बौद्धिकीकरण गर्छन्, अन्तहीन वाद विवाद गर्छन्, अनि वास्तविक निर्णय लिनुपर्ने जिम्मेवारी कुनै माथिल्लो तहमा सार्छन्। तिनीहरु विश्व समुदायसँगको नौलो र सतही परिचयमार्फत् आफूलाई सामान्य जनताभन्दा फरक र बिशिष्ट देखाउने चेष्टा गर्छन्। तिनीहरु चाकरीको प्रयोग गर्छन्। र, जब आफूलाई प्राप्त सुविधाको पदमा पुग्छन्, तिनीहरुको मान्यता के हुन्छ भने देशका लागि केही पनि गर्न सकिँदैन। त्यसैले आफू र आफ्नो मान्छेका लागि अवसरको उपयोग गर्नुपर्छ।
यस्तो प्रवृत्ति उच्च जातिका शिक्षित व्यक्तिहरुमा मात्र नभई जनजाति समूह भित्रका ती व्यक्तिहरु, जसले व्यक्तिगत प्रयासबाट शिक्षा र सम्मानित स्थान पाएका छन्, जब उनीहरु श्रेणीभेदी जातिय मान्यताको सम्पर्कमा आउँछन्, त्यस्ता जनजातिहरुमा समेत जातीय श्रेणीभेद प्रवृत्ति उत्पन्न हुन्छ। हिन्दू बर्णभेदी जातीय व्यवस्थाको यो सबैभन्दा ठूलो खतरा हो कि यसलाई सजिलै धर्म निरपेक्ष पनि बनाउन सकिन्छ र परम्परागत जातीय बर्णभेद नमान्नेहरु लगायत कुनै पनि सामाजिक वर्ग वा जनजातिबाट समेत नौलो तरीकाले यसको प्रयोग हुन सक्दछ।
वर्ण श्रेणी बिभाजनको परिणामस्वरुप नेपाली राष्ट्रिय पहिचानको अवमूल्यन हुन गयो। नेपाली राष्ट्रिय पहिचानको साटो भारतीय हिन्दू जातीयतावादले प्रश्रय पायो। नेपालको वास्तविक सामाजिक व्यवस्थाको खोजी भारतीय बाहुनवादी ऐतिहासिक परम्पराहरुमा खोज्न थालियो। भाग्यवादी प्रवृत्तिले गर्दा नेपाली समाजमा पुर्नजागरण हुन पाएन, समाजलाई अकर्मण्य र पलायनवादी बनायो। यसरी नेपालमा भारतीय संस्कृतिको प्रभावका असरहरु हुन गए। नेपालीपनको अवमूल्यन, धार्मिक संस्कृतिको भारतीयकरण, आफूप्रति हीनता बोध, र भाग्यवादी समर्पण ।



लाेकपाटी न्यूज

