जनकपुरधाम। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। नेकपा र कांग्रेसले अवरुद्ध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
बैठक पुस १७ गतेसम्मका लागि स्थगित भएको छ। उपभोक्ता समितिले गरेको विकास निर्माणको भुक्तानी, जनता आवास, संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा सांसदहरुले बैठक वरुद्ध गर्दै आएका छन्।
यसभन्दा पहिले सोमबार करिब डेढ महिनापछि बसेको प्रदेशसभा बैठक विपक्षीहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो। मंगलबारको बैठक पनि ५ मिनेटमै स्थगित भएको छ। यता प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले कर्मचारीहरुकै कारणले अहिलेसम्म भुक्तानी हुन नसकेको प्रतिक्रिया दिएका छन्।
उनले मुख्यमन्त्रीले नै जवाफ दिनुपर्ने विपक्षीहरुको माग उचित नभएको बताए। उनले भने, ‘मुख्यमन्त्री नरहेको अवस्थामा आन्तरिक मामिला तथा कानून मन्त्री जवाफ दिन सक्छ तर विपक्षीहरुले मुख्यमन्त्री बाहेक कुनै अरु मन्त्रीबाट जवाफ नसुन्ने अडान लिनु गैरमर्यादित हो।’ गत आर्थिक वर्षमा भएको कामको भुक्तानीको विषयमा सरकार गम्भिर रहेतापनि प्रक्रिया मिचेर भुक्तानी नहुने मन्त्री यादवले बताए।
यस्तै उपभोक्ता समितिले गरेको विकास निर्माणको काम वापतको भुक्तानी प्रदेश सरकारले नगरेपछि उपभोक्ता समितिका पदाधिकारीहरु आन्दोलित भएका छन्। उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्ता समितिले गरेको कामको भुक्तानी गर्नुपर्ने लगायतका माग राखेर प्रदेश २ को सदन अगाडि प्रदर्शन गरेका छन्।
उनिहरुले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी समेत गरेका थिए। त्यसक्रममा कृषि राज्य मन्त्री योगेन्द्र राय यादव र प्रदेश सांसदबीच हातपातको अवस्था समेत आएको थियो। प्रदेश सभाको बैठक अब पुस १७ गते दिउँसो १ बजे बोलाइएको छ। त्यो दिन पनि संसद घेराउ गर्ने चेतावनी उपभोक्ता समितिका पदाधिकारीले दिएका छन्।



लाेकपाटी न्यूज

