काठमाडौं, १५ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पहिचानसहितको विचारलाई स्थापित गरेर राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्। तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिँँदै प्रचण्डले सबै नेपालमा शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा प्रचण्डले लेखेका छन्, ‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो।’
यस्तो छ शुभकामना सन्देश
तमु (गुरुङ) समुदायको पर्व तमु ल्होछार÷ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। पुरानो वर्ग (वर्ष) को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ। सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन्।
राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ। यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरुबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ।
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो।
यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।




लाेकपाटी न्यूज

