प्रदेश-२ मा सरकार परिवर्तन हुँदैन : उपेन्द्र यादव

Upendra Yadav
लाेकपाटी न्यूज

जनकपुर। समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार परिवर्तनको हल्ला निराधार रहेको बताएका छन्। उनले यस्ता हल्ला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले चलाएकाे भन्दै यसको पछि नलाग्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरे।

महोत्तरीको सदरमुकाम जलेश्वरमा साेमबार आयोजित पत्रकार सम्मेलनमा यादवले मधेसको जनादेश नेकपासँगको गठबन्धन नभई राजपा र समाजवादीको भएकोले प्रदेशमा सरकार बनाउन नेकपाको प्रस्ताव आए राजपाले त्यसलाई अस्वीकार गर्नुपर्ने बताए। राजपासँग पार्टी एकिकरणको दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेकाे उनकाे भनाइ छ।

उनले समाजवादी पार्टी र राजपाको एकीकरणमा टुंगाे लगाउन बाँकी रहेका कुराहरु छिनोफानो गरी एकीकरणको दिशामा अघि बढ्नुपर्ने बताए। अध्यक्ष यादवले अहिलेको वर्तमान राजनीतिक माहाेललाई राजपाले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो पार्टी सरकारमा सामेल हुनुअघि सरकारसँग गरेको सहमति कार्यान्वयन हुने अवस्था नरहेको कुरा राजपाले बुझ्नुपर्छ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको बलमा स्थापित संघीयतालाई संस्थागत गर्ने जिम्मा उत्पीडित वर्गको नै रहेको उल्लेख गरे। समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले संगठन नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै युवाहरुलाई संगठनमा जुटन आग्रह गरे।