एजेन्सी। सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर आफ्नो नयाँ कारोबारका लागि पैसा जम्मा गर्दै थिए। सिफर भन्छन्, ‘पैसा सहयोग दिनेहरूले सोध्ने गर्दथे– के कण्डम शाकाहारी हो ?’ सिफर र जाइलरलाई त्यसबेलासम्म पनि कण्डमको रबरलाई मुलायम बनाउनका लागि जनावरको प्रोटिनको प्रयोग गरिन्छ भन्ने जानकारी थिएन ।
बर्लिनका दुवै उद्यम पर्यावरणप्रति जागरुक ग्राहकका माध्यमबाट ८ अर्ब डलरको वैश्विक कण्डम बजारमा आफ्नो स्थान बनाउन कोसिस गरिरहेका थिए। यस्ता मानिसहरूको संख्या धेरै थियो। चार वर्षपछि टिकाउ र शाकाहारी उत्पादनको उनको ब्रान्डको वार्षिक कारोबार ५० लाख युरोसम्म पुग्यो। उनको कम्पनीको नाम हो, आइन्हर्न। जसको जर्मन अर्थ युनिहर्न हुन्छ। यस शब्दको प्रयोग १ अर्ब डलरको कारोबार गर्ने वालिस्टार्ट–अप कम्पनी (जस्तो एयरबन्ब र डेलिभेरो) का लागि गरिन्छ।
सिफर र जाइलरको कम्पनी अझैसम्म पनि यो अवस्थामा पुगेको छैन। तर, यो कम्पनी दिगो पर्यावरणलाई केन्द्रमा राखेर कारोबार स्थापित गर्नमा सफल भएको छ। यसमा कारोबारी समूहका लागि सम्भावनाको नयाँ ढोका खुला छ। जर्मनीमा गर्भनिरोधका लागि गोलीपछि कण्डम दोस्रो लोकप्रिय उपाय हो। तर, आफ्नी केटी साथी (गर्लफ्रेन्ड) सँगै किन्न आउँदा सिफरलाई आफ्नो ब्रान्डिङ पुरानो लागेको थियो। उनलाई लाग्यो, आफ्ना उपभोक्ता शायद नयाँ पर्यावरण–अनुकूल वैकल्पिक उत्पादन मन पराउँछन्।
जाइलर पहिले यो कुरा मन पराउँदैन थिए। तर, अहिले फेरि उनी यसमा सहमत छन्। उनको यो उत्पादन ई–व्यापारका लागि आदर्श लाग्यो। उनी यस्तो कारोबार खडा गर्न चाहन्थे, जुन धर्तीका लागि मात्रै नभएर कम्पनीका श्रमिकका लागि समेत सही र टिकाउ होस्। उनी १० वर्षदेखि स्टार्टअप व्यापारमा थिए र आफ्नो सपना साकार पार्ने बाटो खोजिरहेका थिए। सिफर बच्चा हुँदा नै ठूलो भएर के बन्ने भनेर कसैले सोध्यो भने उत्तर दिन्थे– करोडपति बन्न चाहन्छु। १० वर्षसम्म उद्यमी बनेपछि उनी आफू र सहयोगी साथीहरूसँगै करोडपति बन्दै थिए, तर खुशी थिएनन्।
कारोबार सुरु गर्नका लागि उनले सुरुमा ‘क्राउड फन्डिङ’ को सहारा लिए। जसबाट उनले १ लाख ११ हजार डलर जुटाए। यही पुँजी नै शाकाहारवाद आइन्हर्नको ‘प्रोडक्ट प्लानिङ’ को हिस्सा बन्यो। सिफर सजिलै बेच्न सकिने उत्पादन बनाउन चाहन्थे। जसलाई अनलाइनमा पठाउन सकियोस् र फिर्ता गरिरहन नपरोस। उनले भने, ‘कण्डम हाम्रा लागि सही उत्पादन थियो। पहिले हामीले यो शाकाहारी हुन्छ या हुँदैन भन्ने पनि सोचेका थिएनौं।’
भेडाको आन्द्राबाट कण्डम बनाउने दिन गइसकेका छन्। तर, बजारमा उपलब्ध धेरैजसो विकल्प अहिले पनि पशुको प्रोटिन केसिन नै हुन्छ। कण्डम बनाउन चाहिने प्रमुख पदार्थ रबर हो। जसलाई एसियाका उष्ण क्षेत्रमा पाइने रबरका रुखबाट निकालिन्छ। केसिन प्रोटिन व्यापक रूपमा स्तनधारीको दूधबाट पाइन्छ। जसले रबरलाई नरम बनाउँछ। आइन्हर्नले केसिन प्रोटिनको प्रयोग गरेन। सो कम्पनीले प्राकृतिक रुखबाट पाइने पदार्थलाई रोज्यो।
त्यसमाथि रबर पर्यावरणमा समेत ख्याल राख्दै यो रोजिएको थियो। आइन्हर्न शाकाहारी कण्डम बनाउने पहिलो कम्पनी होइन। उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले २०१३ मा नै शाहाकारी कण्डम बनाएको थियो। त्यस समयमा कण्डम बजारमा विकल्प आइसकेको थियो। सन् २०२६ सम्ममा यसको बजार १५ अर्ब डलरसम्म पुग्ने अनुमान छ। शाकाहारी कण्डमको बजार अहिले पनि नयाँ छ।
आइन्हर्नका धेरैजसो ग्राहक २० देखि ४० वर्षबीचका रहेका छन् र ६० प्रतिशत महिला ग्राहक छन्। सिफर भन्छन्, ‘अहिले पनि धेरै मानिसहरू कण्डमजस्ता वस्तु किन्न लजाउँछन् र किनेको समयमा अरु सामानले छोप्छन्। यस कारण हामी ग्राहकसमक्ष टिकाउ सामान लिएर जान चाहन्थ्यौं र डिजाइन राम्रो बनाएर ग्राहकलाई आकर्षित गर्न चाहन्थ्यौं।’



लाेकपाटी न्यूज

