नेपाल भ्रमण वर्ष : ‘घुम्न जाउँ बर्दिया’को तयारी पूरा

80839441_777320112769706_8545271235678830592_n
लाेकपाटी न्यूज

अस्मिना पाण्डे/बुटवल। नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुन २ दिन मात्रै बाँकी छ। पुस १६ गते नेपालका सात वटै प्रदेशबाट शुभारम्भ हुन लागेको भ्रमण वर्ष सफल बनाउन प्रदेश ५ ले पनि तयारी पूरा गरेको जनाएको छ।

लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको प्रदेश सरकारले नेपाल भ्रमण वर्षको शुभारम्भ बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट गर्ने भएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश ५ बुटवलले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बाँके र बर्दियाका जनताको मन जित्नका लागि भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गर्न लागिएको बताए।

मन्त्री गिरीले प्रदेश ५ को भू–बनावटका आधारमा सम्भावित सम्भावनालाई उपयोग गर्ने बताए। प्राकृतिक हिसाबले बाँके राष्ट्रिय निकुञ्जलाई अग्रभागमा राखेर बर्दिया रोजिएको पनि उनको भनाइ छ। “संघघीय सरकारले अघि सारेको भ्रमण वर्षलाई सबैले साथ र सहयोग नगर्ने हो भने कुनै पनि काम सफल हुन सक्दैन” उनले भने।

भ्रमण वर्ष सफल बनाउन संघीय सरकारले प्रदेश सरकारलाई २५ लाख सहयोग गरेको जानकारी दिँदै मन्त्री गिरीले भ्रमण वर्ष सफल पार्न सबैले साथ र सहयोग गर्न आग्रह गरे। मन्त्री गिरीले प्रदेश मन्त्रालयको सहयोग र बाँके होटल एशोसियसनको आयोजनामा मंगलबार राति भ्रमण वर्षको स्वागत गर्ने र २०२० जना भारतीय पर्यटक नेपाल ल्याउने कार्यक्रम रहेको समेत बताए।

भ्रमण वर्षको उद्घाटन समारोहमा झाँकीसहित विभिन्न जिल्लाका साँस्कृतिक कार्यक्रमको आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, बाँके र बर्दिया जिल्लाका माननीयहरु, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिहरु, स्थानीय तहका प्रमुखहरु र विभिन्न सरोकारवाला संघसंस्थाहरु लगायत सबैलाई निमन्त्रणा गरिएको पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं प्रदेश सरकारका मन्त्री गिरीले जानकारी गराए।

कार्यक्रम पर्यटन प्रवद्र्धन समितिका संयोजक एवं मन्त्री लिला गिरीको अध्यक्षता तथा सहसंयोजक माधव नेपालको स्वागत र मन्त्रालयका अधिकृत टंक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। प्रदेश स्तरीय भ्रमण बर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उदघाटन गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्