देउवालाई सभापतिबाट फालेरै छोड्छु : डा. कोइराला

sashanka koirala
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा राखिरहनु पार्टी र देशकै लागि ठूलो घाटा हुने बताएका छन्। नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले पार्टी सभापतिका रुपमा सम्मान गर्दागर्दै पनि देउवा नेपाली कांग्रेस पार्टीको सभापति हुन नसकेको आरोप लगाए।

‘उहाँ गुटको मात्र सभापति भएको र यस्तो सभापति नेपाली कांग्रेसका लागि आवश्यक छैन’, डा.कोइरालाले भनेका छन्। महामन्त्री डा. कोइरालाले अब देउवासंँग कुनै पनि विषयमा एकता गर्न नसकिने र महाधिवेशनकै माध्यमबाट देउवालाई हटाएर कांग्रेसमा एकता ल्याउने बताए।

डा. कोइरालाले गाउँगाउँमा रहेको नेपाली कांग्रेसका कार्यकर्तालाई पार्टी एकताको अभियानमा लाग्न आग्रह गरेका छन्। उनले देउवा हराउ अभियानका रुपमा देशभरि कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

‘अब हामी गाउँगाउँमा जान्छौँ र सबै साथीभाईहरूसंग सल्लाह गर्छौं। गाउँगाउँमा एकताको संगठन बनाउँछौँ’, डा. कोइरालाले भनेका छ, ्‘पार्टीलाई एक बनाएर अगाडि लैजान कसरी अगाडि जाने भन्ने कुरामा छलफल गर्छौं।’

‘सबै साथीहरूको सल्लाहअनुसार सामूहिक निर्णय गरेर त्यही अनुसार अगाडि बढ्छौँ। सभापतिले अति गर्नु भो’, उनले भनेका छन्, ‘अब हामी देखाउछौँ कि बहुमत कोसंँग रहेछ भन्ने कुरा। केन्द्रीय समितिमा मात्रै बहमत भएर पार्टी चल्छ कि चल्दैन, त्यो अनुभव अब सभापतिलाई हामी गराउने छौँ।’

महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेस एक नभएसम्म देशको राजनीतिमा समेत सकारात्मक प्रभाव नपर्ने बताए। उनले पार्टीका कार्यकर्ताले नेपाली कांग्रेस एक भएको हेर्न चाहे पनि सभापति देउवाले एकता हुन नदिएको आरोप लगाए। अबको कांग्रेस देउवा नेतृत्वमा कुनै पनि हालतमा जान नदिने डा.कोइरालाले बताएका छन्। उनले आगामी महाधिवेशनपछि पार्टी एकढिक्का हुने बताए।

सामूहिक निर्णयविना पार्टी एक भएको महशुस नहुने उनले बताएका छन्। ‘अब शेरबहादुरजीले पार्टी चलाउन सक्नुहुन्न। यो महाधिवेशनमा पार्टी सभापति परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ’, उनले भने, ‘अब देउवाको नेतृत्वमा कुनै पनि हालतमा पार्टी एक हुँदैन। यसका लागि हामी अब पार्टी एक बनाउने अभियानमा लाग्ने छौँ।’

नेपाली कांग्रेसमा अहिले पनि पार्टी सभापति देउवाको पकड बलियो छ भन्ने प्रश्नमा डा. कोेइरालाले भने, ‘देउवाजी केन्द्रीय समितिमा बलियो हुनुहुन्छ। त्यसले उहाँले अहिलेसम्म आफ्नो गुटलाई बबलियो बनाएर पार्टी कब्जा गर्ने रणनीति प्रयोग गरिरहनु भएको छ।’ ‘नेपाली कांग्रेस भनेको केन्द्रीय समिति मात्रै होइन’, महामन्त्री डा.कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय समितिभन्दा बाहिर पनि छ। बाहिर भएको नेपाली कांग्रेस देउवासँग छैन।’