चितवन, १३ पुस । भरतपुर महानगरपालिकाको प्रमूखमा निर्वाचित भएर आएको रेनु दाहालको अवधि अढाई वर्ष पूरा भएको छ। २० वर्षपछि जनप्रतिनिधि पाएको भरतपुर महानगरमा रेनु दाहालको नेतृत्व आएपछि तिव्रताका साथ कामहरु अघि बढेका छन्। अढाइ वर्षमा धेरै विकासका कामहरु तीव्र रुपमा भइरहेका छन् भने एक दर्जन गौरवका आयोजनाहरु अन्तिम चरणमा पुगेका छन् ।
महानगरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, रिंङ रोड र लिंकरोड, भरतपुर अस्पतालको कुरुवा घर, भरतपुर २२ को अम्ब्रेला पार्क, भरतपुर १९ को रानीपोखरी, भरतपुर १३ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण, भरतपुर २७ को मुसहर बस्ती निर्माण, भरतपुर विमानस्थलको विस्तारलगायत एक दर्जन गौरवका आयोजनाहरु यतिबेला धमाधम निर्माण भइरहेको छ। केही आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्।
भरतपुर महानगरमा अन्तिम चरणमा पुगेका आयोजनाहरुमा भरतपुर अस्पतालको कुरुवा घर हो । जसको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। ‘भरतपुर अस्पतालमा आउने बिरामी कुरूवाका लागि अलग्गै सुविधासम्पन्न भवन बनिरहेको छ। अस्पतालभित्र बनिरहेको बिरामी कुरूवा घर एवं पूर्वाधार निर्माणले यतिबेला तिव्रता पाइरहेको छ’ महानगर प्रमूख रेनु दाहालले भनिन्।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले भरतपुुुुर अस्पतालमा बिरामी कुरूवा घर बनाउन ठेक्का लगाएको ११ महिनामा ८० प्रतिशत काम सम्पन्न भएको छ। कुरूवा घर साढे तीन तलाको छ। आयोजनाका अनुसार २०७५ साल पुस ९ गते सम्झौता भएको दिनदेखि नै निर्माणको काम अघि बढेको थियो २०७५ साल माघ १७ गते तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कुरूवा घरको शिलान्यास गरेका थिए।
भ्याटसहित ६ करोड ८१ लाख ३० हजार ३०८ रूपैयाँ ६१ पैसामा कुरूवा घर निर्माणका लागि सम्झौता भएको सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ। कुल लागत अनुमान १० करोड ४८ लाख २६ हजार ७७० रूपैयाँ ९७ पैसा गरिएको छ। महानगरलाई हेर्दा देखिने काम भनेको सडकको कालोपत्रे हो। महानगर प्रमूख दाहालले मोज्याक टायलसहित हिसाब गर्दा झण्डै २०० किलोमिटर कालोपत्रे भएको बताइन्। ‘महानगरका कुनै वडामा कतैपनि कालोपत्रे देख्न सक्ने अवस्था थिएन, तर अहिले जुन गाउँमा गए पनि कालोपत्रे देख्न सकिन्छ’ महानगर प्रमूख दाहालको भनाइ छ ।
‘अढाइ वर्षमा सोचेजसरी विकासका कामहरु भइरहेका छन्, देशभरका पाँच महानगरभित्र भइरहेका विकासको कामको तुलनामा यो अढाइ वर्षमा भरतपुरको विकास तीव्र रुपमा भइरहेको छ’ महानगर प्रमूख दाहालले भनिन्। उनका अनुसार भरतपुर महानगरमा अढाइ वर्षमा ठूला आयोजनाहरु छन्, जसलाई सम्पन्न गर्न केही समय लाग्छ।क्रिकेट रंगशालादेखि मुसहर बस्ती उठाउनेसम्मका कामहरु भइरहेका छन्’ प्रमूख दाहालले भनिन्, ‘पार्क बनाउनेदेखि लिंकरोड र रिङरोडका कामहरु भइरहेका छन्, स्थलगत अवलोकन गरी समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ।’ अढाइ वर्षमा सबैभन्दा धेरै काम भएको सडक कालोपत्रे नै हो। महानगरका जुन गाउँमा जाँदा पनि कालोपत्रे देख्न पाइन्छ । यो महानगरको अढाइ वर्षको सबैभन्दा ठूलो उपलव्धि हो।
भरतपुर महानगर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा भएको छ। महानगर प्रमूख दाहाल नै रातभर सडकमा कुदेर पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो। महानगरले फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा सारेको छ। लायन्सचोकको फलफूल बजारलाई क्षेत्रपुरमा सारेर महानगरीय फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याएको हो। विषादी प्रयोगशालासहितको फलफूल तथा तरकारी बजार नगरको शोभा बनेको महानगर प्रमूख दाहालले बताइन्।
एक दशकसम्म नबनेको चौबीसकोठी-चनौली सडक यतिबेला कालोपत्रे भएको छ। महानगरले अढाई वर्षमा गरेको अर्को काम नारायणगढ बजारको फुटपाथ हटाउनु हो। फुटपाथका नाङ्लो पसल हटाएर महानगरले पैदल यात्रामा हिँड्नेहरुलाई सहज बनाएको छ। तीन पांग्रे (अटो रिक्सा) लाई मुख्य राजमार्गमा रोक लगाएर स्मार्ट सिटीको अवधारणालाई महानगरले साकार पार्दै लगेको प्रमूख दाहालले बताइन्। ‘राजमार्गमा अटो रिक्सा चल्दा धेरै दुर्घटनाहरु भएका थिए। राजमार्गमा अटो रिक्सा चल्न रोक लगाएर स्मार्ट सिटीको अवधारणाको विकास साकार पार्ने काम गरिरहेको छ’ उनले भनिन्।
अढाइ वर्षको अवधिमा सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्याण्ड राखिएको छ। भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाएको छ। क्यान्सर अस्पतालको स्तरोन्नति गरिएको छ। लक्ष्यअनुसारको राजस्व उठाइएको छ। खानेपानीको विस्तार गरिएको छ। १८ वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छाइएको छ। प्रविधिमैत्री वडा कार्यालय बनाइएको छ। दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान छ। कृषिको मल, बीउमा अनुदान छ। सडक कालोपत्रे भएका छन्। सडकहरुमा मोज्याक टायल बिछ्याइएको छ। ज्येष्ठ नागरिकले उपचारमा छुट पाएका छन्। महिलाले भरतपुर अस्पतालमा निःशुल्क टिकट पाएका छन्।
‘अढाई वर्षको छोटो अवधिमा सकेसम्म धेरैभन्दा धेरै कामहरु गरेका छौँ, अढाई वर्षमा भएको यहाँको विकास अन्त भएकै छैन, यो ठोकुवा गर्न सकिन्छ’ प्रमूख दाहालले भनिन्। यस्तै, अढाइ वर्षमा शिक्षातर्फ रामपुरमा इञ्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याइन, भरतपुर १४ मा प्रहरी विद्यालय खोल्न महानगर सफल भएको छ। पर्यटनतर्फ पटिहानीलाई देशकै एक सय गन्तव्यभित्र पार्न र मेघौलीलाई प्रदेशको एक नम्बर गन्तव्यमा ल्याउन पनि महानगर सफल भएको छ।
निर्माणमा भएका कामहरु :
भरतपुर महानगरका ठूला आयोजनाहरु यतिबेला निर्माणको क्रममा छन्। ‘गौरवका ठूला आयोजनाहरु अढाइ वर्षको अवधिमा पूरा हुन सक्दैनन्, धेरै निर्माणको चरणमा छन्, केही अन्तिम चरणमा पुगेको छ’ महानगरका प्रमूख रेनु दाहालले भनिन्।
महानगरको गौरवको आयोजना देवघाटमा बन्दै गरेको विद्युतीय शवदाह गृह हो। यो निर्माणको क्रममा छ। भरतपुर १९ को रानीपोखरी ताल तथा पार्क निर्माण, भरतपुर २७ मा मुसहर बस्ती निर्माण, भरतपुर २२ मा अम्ब्रेला पार्क, भरतपुर २४ मा आयुर्वै्दिक अस्पताल, भरतपुर ६ को लक्ष्मीनारायण मन्दिर र पार्क निर्माण महानगरको लिंकरोड, रिङरोडलगायतका ठूला आयोजनाहरु निर्माणले गति लिएको भरतपुर महानगरले जनाएको छ। यस्तै, राप्ती र नारायणी तटबन्धको काम, भरतपुरको चार लेनको बाइपास सडक पनि यतिबेला निर्माणको क्रममा रहेको छ ।
के-के हुँदैछन् थप आयोजना
नारायणगढको पुरानो सब्जीमण्डीमा १३ तले बहुउद्देश्यीय भवन डीपीआर भइसकेको छ । जिल्ला समन्वय समितिको पछाडि बन्ने भनिएको सिटीहलको डीपीआर सकिएको छ। यसको पनि वातावरणीय प्रभाव मूल्यांकन सकिएको महानगरले जनाएको छ। फागुनभित्र टेण्डर निकालिने महानगरले जनाएको छ।
ल्याण्डफिल साइटको लागि कोरियन कम्पनी सुधोकनसँग एमओई सम्पन्न भइसकेको छ। पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेनको लागि यसको डीपीआरको काम भइरहेको छ। भरतपुर विमानस्थल विस्तारको काम अगाडि बढेको छ। केन्द्रबाट एक अध्ययन टोलीले भरतपुर विमानस्थललाई विस्तार गर्न अध्ययन भइसकेको छ।



लाेकपाटी न्यूज

