धरान। उपनिर्वाचतबाट विजयी मेयर तिलक राईले बोलाएको पहिलो कार्यपालिका बैठक आवश्यक कोरम नपुगेर स्थगित भएको छ। उपमेयरसहित नेकपा पक्षले बहिष्कार गरेपछि कार्यपालिका बैठक आवश्यक कोरम नपुगेर स्थगित भएको हो।
बैठक स्थगित भएपछि उपमेयर मञ्जु भण्डारी सुवेदीसँग छलफल गरेर आउदो सोमबार बिहान पुनः बैठक राखिएको छ। नेकपाले बहिष्कार गर्दा नवनिवार्चित मेयर राईले पदभार ग्रहण गरेलगत्तै कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय पनि स्वीकृत हुन पाएन।
यस्तै, यही पुस २० गतेसम्म ३ दिन धरान डे(स्थापना दिवस) मनाउने तयारीलगायत विभिन्न प्रस्तावहरु पनि सोमबारसम्मलाई थाती रहेको छ। एक कार्यपालिका सदस्यका अनुसार बैठकमा नेकपा पक्षका एक जना पनि कार्यपालिका सदस्य उपस्थित भएनन्। प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले गणपुरक संख्या नपुगेर सोमबार बिहान बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए।
‘गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको हो, बैठक बसेन भनौ भने पुस १४ गते बिहान ८ बजे बैठक बस्ने निर्णय भएको छ,’पोखरेलले भने। धरानका मेयर तिलक राईले भने नेकपा पक्षबाट बहिष्कार नभएको दावी गरे। उनले कार्यपालिका सदस्यहरुले नवनिवार्चित मेयरलाई बधाई, शुभकामना दिने तयारी नपुगेकोले बैठक स्थगित गर्न आग्रह भएवमोजिम स्थगित गरिएको प्रतिक्रिया दिए।
‘खासै ठूलो एजेण्डाहरु पनि थिएन। कार्यपालिका सदस्यहरुले नयाँ मेयरलाई बधाई र स्वागत गर्नुपर्ने थियो, आवश्यक तयारी पुगेन भन्ने कुरा आयो, र स्थगित गरिएको हो,’मेयर राईले भने। नेकपाका १२ नं वडाअध्यक्ष एवं कार्यपालिका सदस्य टंक राईले भने मेयर राईले उपमेयरसँग आवश्यक समन्वय नगरी बैठक राखेको र आवश्यक तयारी पनि नपुगेकोले बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिए।
‘उमेयर ज्यूसँग पनि एजेण्डाहरुबारेमा आवश्यक समन्वय र सल्लाह भएको रहेनछ, त्यसैले हामीलाई बैठकमा जान सहज नभएकोले नगएका हौं,’उनले भने। अर्का, कार्यपालिका सदस्य एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले पनि कार्यपालिका बैठक मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय, सल्लाह भएर राखिनुपर्नेमा त्यस्तो नभएकोले बैठकमा नगएको बताए।



लाेकपाटी न्यूज

