उपेन्द्र न्यौपाने\ जुम्ला ११ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका करार कर्मचारीहरुले स्थायी गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। करारका करिव २ सय २९ कर्मचारीहरुले स्थायी गरिनुपर्ने भन्दै शुक्रबार कालोपट्टी बाधेर काम गरिएको आन्दोलित कर्मचारीहरुले बताएका छन्।
आन्दोलित कर्मचारीहरुले पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सिनेट बैठकमा स्थायीको प्रस्ताव लिन भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। करारका कर्मचारीहरुले जारी गरेको आन्दोलनका कार्यक्रमहरुमा पुस १२ गते प्रतिष्ठानको नियमावली जलाउने, पुस १३ गतेदेखि ईमरजेन्सी बाहेकका सम्पूर्ण कामहरु ठप्प गर्ने उल्लेख गरिएको छ ।
उनिहरुले लामो समय सेवा गर्दा पनि स्थायी लगायत सेवा सुविधामा प्रतिष्ठानले वेवास्ता गरेको भन्दै आन्दोलित भएका बताएका छन्। उनिहरुले एक ज्ञापन पत्र प्रतिष्ठानलाई उपलब्ध गराउँदै पुस १४ गते हुने सिनेट बैठकमा प्रस्ताव लैजान आन्दोलन गरेका कर्मचारीहरुले बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सिनेट बैठक पुस १४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बस्ने भएको छ।
यता प्रतिष्ठानको उच्च स्तरको सबै टिम भने सिनेट बैठकका लागि काठमाडौंमा रहेको छ । करारका कर्मचारीहरुलाई लोकसेवाले जिम्मा लिने भनेपछि स्वतः स्थायी गर्न गैर कानूनी हुने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए। प्रतिष्ठानमा उच्च स्तरको एमडिजिपी, डाक्टर पढाईदेखि विभिन्न एजेण्डामा छलफल हुने प्रतिष्ठानले जनाएको छ ।



लाेकपाटी न्यूज

