काठमाडौं। समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। दुई पार्टीबीच हुन सक्ने सहकार्यबारे छलफल गर्न भट्टराई, यादव र समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ बिहीबार साँझ देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।
छलफलमा सहभागी एक कांग्रेस नेताका अनुसार बाबुराम र उपेन्द्रले देउवासँग प्रतिपक्षी मोर्चालाई बलियो बनाउनुको साथै माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने प्रस्ताव गरेका थिए। देउवाले पनि सहकार्यका लागि कांग्रेस तयार भएको बताए। तर दुई पार्टीबीच त्यसबारे औपचारिक निर्णय भने भइसकेको छैन।
छलफलमा पछिल्लो समय चर्चामा रहेको नेपाल ट्रष्टको जग्गालगायत विषयमा दुवै पार्टी मिलेर संसदमा कुरा उठाउनेबारे पनि छलफल भएको ती नेताले बताए। यादव निकट स्रोतका अनुसार संविधान संशोधनको विषयमा कांग्रेसको धारणा बुझ्न र प्रतिपक्षीबीच कसरी गठबन्धन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न उनीहरूको भेट भएको हो।
पुस ८ गते केपी शर्मा ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टी बाहिरिएको थियो।



लाेकपाटी न्यूज

