नेकपाका अध्यक्षद्वयबीच बालुवाटार छलफल

kp-oli-prachanda
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ। नयाँ सभामुख कसलाई बनाउने भन्नेबारे अध्यक्षद्वयबीच बालुवाटारमा केहीबेरअघिदेखि छलफल सुरु भएको हो।

चितवनबाट काठमाडौं फर्किएपछि अध्यक्ष प्रचण्ड छलफलका लागि सोझै बालुवाटार पुगेका हुन्। पार्टी एकतापूर्व भएको शक्ति सन्तुलन अनुसार नयाँ सभामुख पनि पूर्व माओवादीबाटै हुनुपर्ने दाहालको अडान छ।

तर प्रधानमन्त्री ओलीसहित नेकपा भित्रको पूर्व एमाले खेमाले पार्टी एकता भइसकेका बेला अब पूर्व एमाले र पूर्व माओवादीको अडान राख्न नहुने बताइरहेको छ।

नयाँ सभामुखका लागि ओलीले नेता सुवासचन्द्र नेम्वाङलाई अघि सारेका छन् भने पूर्व माओवादी खेमाले अग्नि सापकोटालाई बनाउनुपर्ने प्रस्ताव गरेको छ।

यता उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न नसकेका बेला दुई अध्यक्षबीच छलफल भइरहेको हो। सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ।