काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा मत मतदान गर्ने गरी मतदान केन्द्र तोकेको हो। राष्ट्रियसभा सदस्य लागि आगामी माघ ९ गते निर्वाचन हुँदै छ।
प्रमुख आयुक्त थपलियाले भने, ‘सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सोही स्थानको उपयुक्त ठाउँमा जिल्लाको सिफारिसका आधारमा तोकिएको छ।’
आयोगले बिहीबार राष्ट्रिय सभा सदस्यका मतदाताहरुको संख्या पनि सार्वजनिक गरिसकेको छ। जसअनुसार, सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ जना मतदाता रहेका छन्।
सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेश १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन्।
प्रदेश २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता छन्।
प्रदेश ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन्।
यसैगरी, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन्।
प्रदेश ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता छन्।
कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन्।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च मा.वि.मा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन्।



लाेकपाटी न्यूज

