काठमाडौं। सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको छ। शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रभावित हुनेभएको हो। संसद सचिवालयका अनुसार शुक्रबारका लागि बोलाइएको बैठक कम्तीमा चार दिन धकेलिने सक्ने अवस्था छ।
आजको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने पनि थियो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन सकेको छैन। जसका कारण उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले प्रतिनिधि सभा निर्धारित बैठक सूचना टाँसेर पुस १४ वा १६ गतेका लागि सार्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ।
नेकपामा सभामुख कसलाई बनाउने भन्नेबारे छलफल हुन नसक्दा बैठक प्रभावित भएको हो। नेकपा अध्यक्ष प्रचण्ड बिहीवारै चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो। तर प्रचण्डले बिहीबार काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन।
प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख पनि आफैंले प्रस्ताव गर्ने अडान राखेका छन्। प्रधानमन्त्री ओली भने सभामुख सुवास नेम्वाङलाई बनाउन चाहन्छन्। अब संसद् झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए।
यद्यपि, दुई नेताबीच व्यक्तिका विषयमा छलफल भएको छैन। अध्यक्ष प्रचण्डलाई सभामुख नछाड्न पूर्वमाओवादीका केही नेताहरूको दबाव छ। प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ। सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन्।
दुई अध्यक्षबीच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ। नेताहरूलाई दुई अध्यक्षलाई सहमति गरेर एउटै नाम बैठकमा पेस गर्न सुझाव दिएका छन्। पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ। सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो।
पार्टीले टुंगो लगाएर दुवै अध्यक्षबाट निर्देशन आएपछिमात्र उनले राजीनामा दिने बताइएको छ।



लाेकपाटी न्यूज

