वनस्पति वर्गको अङ्गियोस्पर्म, गण ब्रासिकेल्स, वंश लिपिडियम र प्रजाति लिपिडियम सातिभम भनिने अनि नेपाली भाषीहरूले चम्सुर वा चौंसुर भनेर चिन्ने यो झार वर्गको उद्भिद अत्यन्तै लाभकारी उद्भिद् हो, जुन हामी सागको रूपमा प्रयोग गर्छौं भने त्यसको मसिना तोरीका जस्ता अझ साना र झिना दानाहरूलाई पनि औषधिको रूपमा धेरै अघिदेखि प्रयोग गर्दै आएका हौं।
यो उद्भिद अत्यन्तै लाभकारी र गुणकारी उद्भिद हो। चम्सुर चिसो हावापानीमा हुने तरकारी हो। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ। तर हिउँद, वर्षा दुवैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।
चम्सुर खेती प्रायः सबै प्रकारको माटोमा गर्न सकिन्छ। तर, प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त मानिन्छ। चम्सुरका उन्नत जातहरुभन्दा पनि आफ्नै स्थानीय जात यहाँको हावापानी माटोमा राम्रो फल दिइरहेको छ। काठमाडौं लोकल जात नै खानमा स्वादिलो र सबैले मन पराउने जात बनेको छ।
बीउको गुणस्तर राम्रो भएको चम्सुर ४०० देखि ५०० ग्राम प्रति रोपनी लाग्दछ। राम्रो बाली उत्पादनका लागि २–३ पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ। एक रोपनी जमीनका लागि ५०० देखि ८०० केजी गोवरमल, २ केजी नाइट्रोजन, २ केजी फोस्फोरस तथा २ केजी पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।
बीउ उम्रेको २० देखि २५ दिनपछि १ केजी युरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ। तयारी गरिएको जमिनमा हार देखि हारको दूरी १० सेमि र बोटदेखि बोटको दूरी ३ सेमिमा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ। चम्सुर तराई क्षेत्रमा आश्विनदेखि मंसिरसम्म, मध्य पहाडमा भाद्रदेखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।
चम्सुर छोटो अवधिको बाली भएकाले सिंचाइको निकै कम आवश्यकता पर्दछ। बीउ रोपेको ३० देखि ३५ दिनमा उत्पादन लिन शुरु हुन्छ र ४० देखि ४५ दिनमा पूरै बाली लिन सकिन्छ। उत्पादन यसको जात र माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ। तर औसतमा ५०० देखि ७०० केजी हरियो साग प्रतिरोपनी उत्पादन गर्न सकिन्छ।
हालसम्म किराको कारणले बाली नोक्सानी भएको कमै देखिन्छ। तर, कुनै कुनै ठाउँमा हरियो किराले आक्रमण गरेको पाइन्छ। यस्तो ठाउँमा २ मिलि नुभान प्रतिलिटर पानीमा घोली छरेमा रोकथाम गर्न सकिन्छ। कीरा जस्तै रोगको पनि त्यति धेरै प्रकोप भएको पाइन्न। तर कतै कतै गाँठे जरे भन्ने रोग देखा परेको छ। यसको नियन्त्रणका लागि माटोमा चून राख्ने र घुम्ति बाली लगाएमा यसको सजिलै रोकथाम गर्न सकिन्छ।



लाेकपाटी न्यूज

