काठमाडौं, १० पुस । काठमाडौंको लाजिम्पाटमा रहेको शिवम ग्रुप होलिडेज प्रा.ली.का सञ्चालक भोजपुर स्थायी घर भएका रामचन्द्र श्रेष्ठले भारतीय नागरिकहरुसँग मानसरोवर तीर्थ यात्रामा लैजाने भन्दै करोडौं रकम ठगी गरेको खुलासा भएको छ। श्रेष्ठले भारतीय ट्राभल व्यवसायी विवेक बिश्नोईलाई माध्यम बनाएर सन् २०१८ र २०१९ मा गरी एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ ठगी गरेका हुन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिस्नोईले यस्तो आरोप लगाएका छन्। उनकाअनुसार सन् २०१८ मा ३३ जना भातरीय तथा गैरआवासीय भारतीय तीर्थयात्रीलाई तिब्बतको हिल्सामा ७ दिनसम्म अलपत्र पारेपछि प्याकेजको रकमभन्दा बाहेक आपत कालिन भन्दै २६ लाख भारतीय रकम रामचन्द्रलाई बुझाइएको थियो।
उनले भने, ‘सुरुमा रामचन्द्रले २६ लाख भारु ठगी गरे र सन् २०१९ को अगष्टमा ५६ यात्रीबाट उठाईएको ८५ लाख भारतीय रुपैयाँ ठगी गरे । सन् २०१८ र २०१९ मा गरेर उनले हामीसँग कुल एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ भारतीय रकम ठगेका हुन्।’
आफूले श्रेष्ठले गरेको उक्त ठगीको बारेमा नेपालका सम्बन्धित निकायमा जानकारी गराएको पनि जनाए। उनले भने , ‘तर कुनै पनि निकायबाट हामीलाई न्याय भएन् । निज रामचन्द्रसँग मैले पूरा बैंकिङ कारोबार गरेको थिएँ। आवश्यक रकम पनि मैले निजलाई बैंकमार्फत् नै ट्रान्सफर गरेको थिएँ। यसबारे सम्पूर्ण प्रमाण मसँग सुरक्षित नै छ ।’
सन् २०१९ मा मानसरोवर जान नपाएका ५६ जना तिर्थ यात्रीहरुले अहिले आफ्नो विरुद्धमा ठगी मुद्दामा उजुरी (एफ.आई.आर) दर्ता गराएको पनि बिश्नोईले जानकारी दिए। उनले भने, ‘रामचन्द्र श्रेष्ठको ठगी धन्दाको असरले मेरो सम्पूर्ण व्यापार तथा व्यवसाय नै अहिले ठप्प भएको छ । मेरो सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ।’ नेपाल सरकारले श्रेष्ठलाई कडाभन्दा कडा कारबाही गरी ठगेको रकम पनि तुरुन्त फिर्ता गराउन पहल गरिदिनु पर्ने उनको माग छ।



लाेकपाटी न्यूज

