काठमाडौँ। समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले संविधान संशोधन र नागरिकतालाई लिएर सडक आन्दोलन गर्ने बताएका हुन्।
‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरूपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन। अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ। अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ।’
भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन्। ‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नुनै धर्म हुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने।



लाेकपाटी न्यूज

