काठमाडौं। समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। पार्टीले मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन बुधबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको बताए।
प्रधानमन्त्री स्वयम आफूले गरेको सहमतिबाट पछि हटेपछि सरकारमा बस्नुको औचित्य नभएको उनले बताए। प्रधानमन्त्री ओलीलाई व्यङ्य गर्दै यादवले भने, ‘संविधान संशोधन हुन्छ भन्ने सम्झौतामा हस्ताक्षर गर्ने प्रधानमन्त्रीलाई के-के विषयमा सम्झौता गर्ने भन्दै हस्ताक्षर गरेको हो भन्ने त थाहा होला नि ?’
ओलीले राजनीतिक संस्कारहीनता देखाएको आरोप यादवको छ। ‘सत्तारुढ दलबाट सरकारमा सहभागी मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्दा एकपटक सोध्ने प्रयाससमेत गर्नु भएन, बजेट निर्माण गर्ने छलफलमा बोलाउनु भएन। कुनै महत्वपूर्ण निर्णय गर्दा सरसल्लाह भएन, यस्तै हुन्छ राजनीतिक सस्कार ?’ उनले भने।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाले सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने आफूलाई नलागेको बताए। ‘राजपाले वर्तमान सरकारमा सहभागी भएर आत्महत्या गर्ला भन्ने विश्वास मलाई छैन्,’ यादवले भने। अध्यक्ष यादवले राजपालाई सरकारमा नजान सुझाव दिए।
समाजवादी बाहिरिएपछि ओली सरकारको दुई तिहाईको दम्भ समाप्त भएको पनि यादवले बताए। ‘सरकारमा कम्युनिस्ट मात्रै होइन, अन्य पार्टी पनि छन्, हामीसँग दुई तिहाई छ भन्ने दम्भ थियो, त्यो अब तोडिएको छ,’ यादवले भने। यादवले राजपासँग पार्टी एकीकरण गर्ने विषय अन्तिम चरणमा पुगेको पनि बताए। राजपा अब कसरी अगाडि बढ्छ, त्यसले एकीकरण हुने नहुने निर्भर गर्ने यादवको भनाई छ।



लाेकपाटी न्यूज

