काठमाडौं, ९ पुस। उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमसको अवसरमा शुभकामना दिएका छन्। उपराष्ट्रपति पुनले इसाइ धर्मावलम्बीको महान पर्व क्रिसमसडेको अवसरमा आज एक सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी-बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त
गरेका हुन्।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। हाम्रो संविधानले सबै प्रकारका धर्म संस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ, उनले भनेका छन्, तर, कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न र गराउन भने पाइदैन।
हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्दै आएको छ। क्रिसमसडेले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई उर्जा प्रदान गर्ने विश्वास लिएको छु, शुभकामना सन्देशमा उल्लेख छ।



लाेकपाटी न्यूज

