काठमाडौं। गत कात्तिक १६ गते भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। नेपालको परराष्ट्र मन्त्रालयले कात्तिक २० मा एकतर्फी ढंगले गरिएको अन्तर्राष्ट्रिय सीमा हेरफेरको निर्णय नेपाललाई मान्य नहुने भन्दै वक्तव्य समेत निकालेको थियो।
भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ। भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो।
समय–समयमा नेपाल–भारतबीच सीमा विवाद देखिरहेकोले अब यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिइरहेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी मात्र नभएर देशका अन्य भूभागहरुमा पनि भारतले अतिक्रमण गरिरहेको सीमा सम्वन्धी जानकारहरु बताएका छन्। नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ।
६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको सीमा जानकारहरु बताउँछन्। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भूभाग कब्जा गरेको हो। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६ सय ६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए।
खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ। उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा-कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ। भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन।
२०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भूभाग रहेका देखाउँछन्। नापी विभागले २०३६ मा गरेको नापीपछि तयार पारेको नक्सामा लिम्पियाधुरा क्षेत्रको ३ सय १० वर्गकिलोमिटर क्षेत्र हटाएर कालापानी, लिपुलेकसम्म मात्र राखिएको सीमाविद् बताउँछन्। कालापानी-लिपुलेकको ६२ वर्गकिलोमिटर भूभाग भारतले सेना राखेर कब्जा गरेको छ। भारतमा बनाइने नेपालको नक्सामा कालापानी र लिपुलेक नेपालमा छैनन्।
नेपालको नक्सामा नदेखाइएको लिम्पियाधुरा-कालापानी क्षेत्रमा नै ३ सय ७२ वर्गकिलोमिटर जग्गा भारतले कब्जा गरेको छ। कालापानी-लिम्पियाधुरापछि सबैभन्दा बढी सुस्ता क्षेत्रमा भारतले नेपाली भूभाग कब्जा गरेको छ। नवलपुरको सुस्तामा १४ हजार ५ हेक्टर जग्गा अतिक्रमित छ।
कञ्चनपुरमा नै ९ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। झापामा ८, सप्तरीमा ७, पर्सामा ५, ताप्लेजुङ र बर्दियामा ४/४, इलाम, मोरङ, सुनसरी र कैलाली ३/३, पाँचथर, चितवन, रूपन्देही, बाँके, सिरहा, महोत्तरी, सर्लाही, बारामा २/२ स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ। दार्चुला, दाङ, कपिलवस्तु, नवलपरासी र रौतहटमा १/१ स्थानमा नेपाली जमिन अतिक्रमित छ।
अन्तर्राष्ट्रिय मान्यताविपरीत कतिपय स्थानमा दशगजा क्षेत्रसमेत भारतले कब्जा गरेको छ। सन् १९७९ मा लिइएको हवाई फोटोग्राफीबाट नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर निर्धारण गरिएको थियो, त्यो क्षेत्रफल खुम्चिँदै गएको छ। सन् १९७९ गरिएको हवाई फोटोग्राफीमार्फत नेपालको नक्सा एक लाख ४७ हजार एकसय ८१ कायम गरिएको सीमाविद् बताउँछन्।
सन् १८५६ देखि भारतले नेपाली भूभाग अतिक्रमण गर्न थालेको हो। त्यसभन्दा अघिका भारतीय नक्सामा समेत महाकालीको उद्गमस्थल लिम्पियाधुरा उल्लेख छ। सन् १८५६ पछि इस्ट इन्डिया कम्पनीले लिम्पियाधुराबाट निस्कने काली नदीको नाम परिवर्तन गरी कुटी यंक्ति राखिएको सीमाविद् बताउँछन्। लिपु भञ्ज्याङ पश्चिम गरिफू (एर्खा) बाट आउने खा यंक्ति (लिपुखोला)लाई काली नाम दिएर नयाँ नक्सा निकालेको थियो। भारत अर्थात् तत्कालीन इस्ट इन्डिया सरकारले यहीँबाट नेपाली भूभाग अतिक्रमण थालेको सीमाविद्को भनाइ छ।




लाेकपाटी न्यूज

