चितवन, ८ पुस। भरतपुरमा प्याकेजिङ्ग मासु र फ्रोजन फुड्सका लागि सोसियल मिटको शाखा विस्तार भएको छ।केजिङ्ग गरिएको मासुजन्य एवं फ्रोजन फुड्सको लागि सोसियल मिट एण्ड फुड प्रा.लिले चितवनमा शाखा विस्तार गरेको छ।
पोखराको अपार सफलतासँगै उपभोक्ताको मागलाई मध्यनजर गर्दै सोसियल मिटले आइतबार चितवनमा शाखा विस्तार गरेको हो। आइतबार फुड्स टेस्टिङ्ग कार्यक्रम गरि शाखा विस्तारको शुभारम्भ गरिएको हो फुड्स टेस्टिङ्गमा विभिन्न परिकारको बिस्तृत जानकारी गराइएको थियो।
सोसियल मिटको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रिवन काटेर उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै प्रधानले चितवनमा अन्तर्राष्ट्रिय बजारमा उत्पादित बस्तु तथा सेवाको आगमनले होटेल रेस्टुरेन्टमा नयाँपन आउने बताए।
उनले नयाँ परिकारले चितवनका होटेललाई अझ स्तरिय बनाउन टेवा पुग्ने बताए। नयाँ उपभोक्तालाई नयाँ स्वाद र प्याकेजिङ्ग मिट एवं फ्रोजन फुड्सको विस्तृत जानकारी दिन फुड्स टेस्टिङ्ग गरेर शाखा विस्तार गरेकोभन्दै यसले चितवनमा नयाँपन दिने प्रवन्ध निर्देशक राजेन्द्र तिमिल्सेनाले बताए।
प्याकेजिङ्ग गरिएको मासुजन्य एवं फ्रोजन फुड्सको अत्याधुनिक सुबिधासहित चितवनमा नयाँ किसिमको व्यवसायको थालनी गरिएको तिमिल्सेनाले बताए। बाह्य पर्यटकको प्रमूख रोजाइमा पर्ने फ्रोजन फुड्समार्फत् भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने र सामाजिक दायित्वलाई समेत मध्यनजर गर्दै ग्राहकहरुलाई सेवा प्रदान गर्ने उनको भनाइ छ।
‘स्वस्थ र स्वच्छताका आधारमा प्याकेजिङ्ग गरिएको मिट र फ्रोजन फुड्सको विदेशमा अधिक प्रचलनमा रहेकाले नेपालमा पनि अत्याधुनिक प्रविधिमा आधारित मिट एण्ड फुड्स सञ्चालनमा आएको हो।’ तिमिल्सेनाले भने, ‘स्थानीय एवं अन्तर्रास्ट्रिय बजारमा उत्पादन तथा प्रसोधन गरिएका विविध प्रकारका प्याकिङ्ग मिटहरु, सी फुड्स, फ्रोजन फुड्स , डेरी प्रोडक्ट, विभिन्न प्रकारका फ्रोजन भेजहरु र मःम लगाएतका ३ सयभन्दा बढी बस्तुहरुको बिक्रि वितरण गरिने छ।’
विश्वबिख्यात अमेरिकन ब्राण्ड ल्याम्ब वेस्टन कम्पनीको फ्रोजन फुड र नेदरल्याण्ड, हल्याण्ड, भियतनाम, भारत, थाइल्याण्ड र अस्ट्रेलियामा उत्पादन गरिएको माछा, मासु बिक्रि गरिने तिमिल्सेनाले बताए। ३ जना युवाहरुको करिव ५० लाखको लगानीमा चितवनमा शाखा विस्तार गरिएको हो।
सोसियल मिट एण्ड फुड्स् प्रालि पोखरामा करिव ६ वर्षदेखि सञ्चालनमा छ। सुरुमा ५ लाखको लगानीमा सानो मासु पसलबाट सुरु गरेको सोसियल मिटको अहिले ३ करोड भन्दा बढीको पुँजी रहेको छ। उपभोक्ताको सहजताको लागि होम डेलिभरीको समेत व्यवस्था गरिने छ।



लाेकपाटी न्यूज
