प्रहरीको अहिलेसम्मकै ठूलो अपरेशन, ९७ चिनियाँ पक्राउ

Chiniya_Hyakars
नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटपाट गर्दा गर्दै गत असोजमा पक्राउ परेका चिनियाँहरु/ फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुस। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न करिव ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका छन्। प्रहरीले गरेको विशेष सर्च अपरेशनका क्रममा काठमाडौंका विभिन्न ठाउँबाट ९७ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको प्रयोग गरी बैंक ह्याकिङ लगायत अवैधानिक गतिविधिमा संलग्न थिए। केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न सुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख एसएसपी उत्तमराज सुवेदीले पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट ह्याकिङमा प्रयोग हुने उपकरण, केही ल्याटपट, मोबाइलसहितका विद्युतीय सामग्री बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चिनियाँहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ ।

यद्यपि उनीहरुमाथि थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो।एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्