उपेन्द्र न्यौपान\ सिञ्जा, ७ पुस। जुम्लाको सबैभन्दा ठूलो गौरवको आयोजना धौलीघाट खानेपानी ठेक्कामा जाने तयारी भएको छ। संघीय सरकारको सहयोगमा उक्त आयोजनाका लागि रकम जुटेपछि निर्माण कार्यका लागि अगाडि बढाइएको संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयले जनाएको छ।
आयोजना प्रमूख महेश न्यौपानेका अनुसार संघीय सरकारले बजेट बिनियोजन गरि सकेको हुँदा अब ठेक्कामा जाने तयारी थालिएको हो। जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार पाँच सय घरधुरीलाई लक्षित गरि सर्भे गरिएको उक्त आयोजनाको डिपिआरसमेत तयार भएको कार्यालय प्रमूख न्यौपानले जानकारी दिए।
निर्माण भएको डिपिआर अनुसार आयोजनाको लागत रु २ अर्व २५ करोड ९५ लाख ५४ हजार ५२३ रुपैया रहेको छ। आयोजनाका लागि भने ९ प्रतिशत जनश्रमदान र १ प्रतिशत स्थानीय तहबाट नगद रुपैयाको आवश्यकता रहेको उनले जानकारी दिए। सो १ प्रतिशत रकम जम्मा गर्न तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लिखित सहमति दिइ सकेको छ भने चन्दननाथ नगरपालिकामा प्रक्रिया अगाडि बढिरहेको कार्यालयले जानकारी दिएको हो।
जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा यो परियोजना नितान्त आवश्यक भएको हुँदा सफल गर्नुपर्ने जुम्लावासीले बताएका छन्। नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जसरी पनि यो काम सम्पन्न गर्नुपर्ने बताए। उनले धौलीघाट परियोजना जुम्लावासीको विकासको अर्को मुहार फेर्ने आयोजना भएकोमा जोड दिए।
जिल्ला समन्वय समितिका प्रमूख लालबहादुर सार्कीले प्रदेशकै गौरवको आयोजना भएकाले यो आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग सहकार्य हुनुपर्ने सुझाव दिए। उनले बृहत छलफल गरी स्थानीय र सरकारको जोडमा यसलाई सम्पन्न गर्न आवश्यक रहेको बताए।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रु ७५ करोडको अत्याधुनिक भवनको आयोजनापछि सबैभन्दा ठूलो आयोजना धौलीघाट आयोजना हो। वि.सं २०६४ सालमा जुम्लामा संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा शुरुवात भएको आयोजना रकम अभावमा अन्यौलमा थियो। यस वर्ष भने नेपाल सरकारले प्रथामिकतामा राखि बजेट राखेपछि अगाडि बढ्ने निश्चित भएको हो।
प्रति सेकेण्ड ५० लिटर पानी झर्ने क्षमताको उक्त आयोजना निर्माण गर्न भने भौगोलिक चुनौति रहेको छ। सडक नभएका कारण सडक खन्नुपर्ने तर आयोजनालाई खन्ने अधिकार नदिएकाले कठिन भएको उनले बताए। जुम्ला सदरमुकामदेखी ६ किलोमिटर टाढा उचाईमा रहेको मुहानपानीले जुम्ला सदरमुकाम, गुठिचौर गाउँपालिका र तातोपानीका ५८ हजार जनसंख्या लाभान्वित हुने कार्यालयले जनाएको छ।



लाेकपाटी न्यूज

