नेकपाका कार्यकर्तामाथि भएको आक्रमण निन्दनीय

CPN_Nekapa
लाेकपाटी न्यूज

चितवन, ६ पुस। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनले रत्ननगरमा कांग्रेस कार्यकताले आफ्ना नेता कुटिएको भन्दै घटनाको भत्र्सना गरेको छ। पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो।

रत्ननगर नगरपालिका ५ निवासी नेपाली कांग्रेसका कार्यकर्ताहरु ऋषि गुरुङ, यादव पौडेल, प्रकाश खत्री, विकास गुरुङ, विष्णु रिमाल, श्री तामाङलगायतका व्यक्तिहरुले नेकपा जिल्ला कमिटी सदस्यहरु दुर्गाप्रसाद घिमिरे, स्थानीय नेता श्याम देवकोटा र रोजनाथ पाठकमाथि कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा उपभोक्ताहरुको अधिकारमाथि हस्तक्षेप गर्ने नियतले कार्यालय हाताभित्रै आक्रमण हुनु अत्यन्त निन्दनीय कार्य भएको उल्लेख छ।

राजनीतिक पूर्वाग्रहका आधारमा नेपाली कांग्रेस पटकपटक नेकपाका नेता कार्यकर्तामाथि हिंसात्मक आक्रमणमा उत्रिँदै आएको भन्दै नेकपा चितवनले कानून हातमा लिइ सांघातिक आक्रमण गर्ने कांग्रेसको चरित्र नै बनेको भन्दै घटनाको घोर विरोध गरेको छ।

घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानूनअनुसार कारवाही गर्न तथा पुरानो मेडिकल कलेज भरतपुरमा गम्भीर अवस्थामा आईसीयुमा उपचार भइरहेका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पार्टीले मागसमेत गरेको छ ।

मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा उक्त घटना भएको थियो।