काठमाडौं। धादिङको नेत्रावती गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। केएमसी पूर्व विद्यार्थी सङ्घ र ‘नेपालका लागि सँगसँगै’ नामक संस्थाको संयुक्त आयोजनामा पौष ४ र ५ गते स्वास्थ्य शिविर सम्पन्न भएको हो।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, पाटन अस्पताल, किस्टमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको निःशुल्क परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो। स्वास्थ्य शिविरमा करीब चार सय जना बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा. अच्युत शाली घिमिरेले जानकारी दिए।
यस संस्थाले यसअघि पनि कोसी टापु, सुनसरी, मुगु, सिराहा लगायतका अन्य विकट जिल्लाहरूमा पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। अशक्त, बाल वृद्ध, विपन्नहरूको हकहितमा सेवा दिन पाउँदा खुसी लागेको उनले बताए।
शिविरमा एक सय बिरामी बाल रोग, एक सय बिरामी नसा तथा हाडजोर्नी सम्बन्धित रोग, एक सय बिरामी महिला तथा स्त्री रोग लगायतका अन्य विभिन्न किसिमका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको चिकित्सक टोलीका संयोजक डा. पुरुषोत्तम अधिकारीले बताए। केएमसी बागबजार बाट प्लस टु अध्ययन गरी देश विदेशमा रहेका चौध हजार भन्दा बढी दक्ष डाक्टर, इन्जिनियर, सिए आदिको छाता सङ्घ हो।



लाेकपाटी न्यूज

